दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो, ११ काउण्टर थपिए।

काठमाडौं:= दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको हो । टिकट बुकिङ खुलेसँगै गोंगबुस्थित नयाँ बसपार्कसहित तोकिएको काउण्टरमा घर जान टिकट बुक गर्ने यात्रुहरूको चाप बढेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिएको बताउनुभयो । गत वर्ष कोरोना संक्रमणका कारण अग्रिम टिकट बुकिङ खुल्ला नगरिएको भए पनि यसवर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको सिटौलाले जानकारी दिनुभयो । सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बसहरू थप्दै जाने बताउनुभयो ।

टिकट लिन गोंगबुस्थित नयाँ बसपार्कमा ‘टिकट काउण्टर’ थप गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ ‘टिकट काउण्टर’ थप गरेको छ । नयाँ बसपार्कबाट अहिले ३२ टिकट काउण्टरमार्फत टिकट प्रदान गरिँदै आएको थियो । नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, कोटेश्वर, सुनधारा र कलंकीबाट समेत अग्रिम टिकट बुकिङ सुरु गरिएको छ । साथै आगामी असोज २० गतेबाट देशका सबै क्षेत्रको यातायातको लागि रोडपरमिट खुल्ला गरिने सिटौलाले बताउनुभयो ।

अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । नयाँ बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालिले ३४ जना सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० जना प्रहरी खटाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताइएको छ । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।