दियालीको ‘आशा राखी’ लोकप्रिय बन्दै।

काठमाडौं:= गीतकार तथा मोडल रमेश दियालीको केही दिनअघि सार्वजनिक गरिएको ‘आशा राखी’ बोलको गीत लोकप्रिय बन्दै गएको छ । विदेशमा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहँदै आउनुभएका दियालीले अमेरिकामा तयार पारेको गीत र त्यसको म्युजिक भिडियो नेपाल आएर दश दिनअघि सार्वजनिक गर्नुभएको थियो ।

गीतमा कुशल आख्यानकारसमेत रहनुभएका दियालीले नै गीत रचना गर्नुभएको छ । गीतमा सुरेश अधिकारीको संगीत छ भने नेपालमा रेकर्ड गरिएको गीत बानिका प्रधानले गाउनुभएको छ। गीतको म्युजिक भिडियो फिल्मी शैलीमा तयार पारिएको छ । अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको माया प्रेमको कथा छ ।

ओएस.आर. डिजिटलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अधिकांश प्रतिक्रिया सकारात्मक छन् । युट्युबमा यो समाचार तयारपार्दासम्म जम्मा १२ हजार पटक हेरिएको भएपछि ‘माउथ पब्लिसिटी’ राम्रै भइरहेको छ । म्युजिक भिडियो लक्ष्मण दियालीले निर्देशन गर्नुभएको छ । छायांकन विनोद लाम्गदेको छ ।

आकर्षक म्युजिक भिडियोमा गीतकार रमेश दियालीका साथमा मुना क्षत्री र श्रद्धा परियारले अभिनय गर्नुभएको छ । भुटानी मुलका नेपाली युवा दियालीले दर्जनौं गीत रचना गर्नुभएको छ ।थुप्रै म्युजिक भिडियोमा मोडलिङसमेत गर्दै आउनुभएको छ ।

उहाँले छाप्रो नम्बर ५५ नामक उपन्यासबाट अन्तर्राष्ट्रिय पुरस्कार चुम्नुभएको छ । उहाँको यो कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलेसर्वोत्कृष्ट डायस्पोरा कृति पुरस्कार प्रदान गरेको छ । भुटानी शरणार्थीकै विषयमा लेखिएको छाप्रो नं. ५५ ले धेरैको मन जितेको थियो ।