आर्मी, पुलिस र एपीएफको विजयी सुरुवात।

काठमाडौं:= विभागीय टोलीत्रय त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोट्र्स क्लबले छैटौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि सुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५-८, २५-१४ र २५-७ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

यस्तै, दोस्रो खेलमा नेपाल एपीएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि ३-१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो । प्रतिस्पर्धात्मक पहिलो सेट २६-२८ ले गुमाएको एपीएफले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो सेटमा २५-१८ को जित निकालेको एपीएफले तेस्रो सेट २५-१३ तथा चौथो सेट २५-१५ ले जित्न सफल भयो।तेस्रो खेलमा बागलुगको गल्कोट स्पोट्र्स क्लबले बागमती प्रदेशमाथि एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गर्न सफल भयो । पहिलो सेटमा २५-१८ को जित निकालेको गल्कोटले दोस्रो सेट २५-१७ र तेस्रो सेट २५-१७ ले जित्न सफल भयो ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाली मिलन क्लबलाई ३-० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पहिलो सेटमा २५-१७ को जित निकालेको पुलिसले दोस्रो सेट २५-२१ ले र तेस्रो सेटमा २५-१३ का साथ एकपक्षीय जित निकाल्यो । च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुनेछ । च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।

टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबले बागमती प्रदेश, प्रदेश २ ले गल्कोट, दावाली मिलन क्लबले गण्डकी प्रदेश, नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल, नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । बुढानीलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोट्र्स क्लबसँग खेल्नेछ । महिलातर्फको खेल १२ असोजदेखि सुरु हुनेछ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश र गल्कोट स्पोट्र्स क्लब रहेका छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश रहेका छन् ।

समूह ‘सी’ मा त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह ‘डी’ मा नेपाल एपीएफ क्लब, बुढानीलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोट्र्स क्लब रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, ढोरपाटन स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब रहेका छन् । समूह ‘बी’ मा होंगान्जी न्यु डायमन्ड स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी क्लब रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । च्याम्पियनसिपबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछन् ।च्याम्पियन हुने पुरुष र महिला टोलीले समान चार लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुने टोलीले दुई लाख तथा तेस्रो हुने टोलीले एक लाख रुपैयाँ हात पार्नेछन् ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँचौं संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब र महिलामा विभागीय नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौं संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेका थिए ।