आणविक हतियाररहित विश्व निर्माण गर्न राष्ट्रसंघीय महासचिवको आग्रह।

एजेन्सी := संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समूदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताउनुभएको हो । गुटर्रेसले आणविक हतियारहरू विश्वबाट नै अनिवार्य रूपमा उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो । यो हतियार मानवताविरुद्धको र घातक भएकाले विश्वबाटै आणविक हतियारहरू उन्मूलन हुनुपर्नेमा उहाँले जोड दिनुभएको हो । तर, अहिले पनि आणविक हतियारहरू विश्वमा एक चुनौतीका रूपमा रहेको उहाँले बताउनुभएको छ ।

उहाँले गएको एक दशकयता विश्वबाटै आणविक हतियारहरू घट्दो रूपमा रहेको पाइएको भए पनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उहाँले बताउनुभयो । तर, यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको उहाँले बताउनुभएको छ । त्यसैले यी सबै हतियारहरू विश्वबाटै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघसमक्ष रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पार्नुभयो ।