काठमाडौं:= राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गर्नुभएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्नुभएको हो।
सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ १ भदौमा सिफारिस गरेको थियो। एमाले विभाजन गर्न माधव नेपाल समूहलाई बाटो खोल्ने उद्देश्यले सरकारले अध्यादेश जारी गरेको थियो । सोही अध्यादेशले व्यवस्था गरेको प्रावधानका आधारमा एमालेबाट फुटेको समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको छ ।
२ भदौमा राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो । उद्देश्य पुरा भएसँगै सरकारले अध्यादेश खारेज गरेको हो । अध्यादेशका कारण सत्तारुढ दलहरुहरू भित्रै विभाजनको त्राश थियो।




















