क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा करिब ४ बर्ष अघि सुरक्षागार्डको क्षेत्रमा काम गर्न मलेशिया आएका ६ जना नेपालि श्रमिकहरुको शनिवार गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेशियाको पहलमा र नेपाली दूतावासको सहयोगमा उद्धार गरि सकुशल नेपाल फर्काईएको छ।
वोर्ल्ड इन्टरनेसनल प्राइभेट लिमिटेड र प्रेसाइज इन्टरनेसनल प्राईभेट लिमिटेड मार्फत ब्लु फोर्स सेक्युरिटी सर्भिसेस एसडिएन.बिएचडी कम्पनीमा सन् २०१७ मा मलेशिया आईपुगेका नेपाली श्रमिकहरु क्रमशः मानधार शाह , रिन्जु शेर्पा , कमल ओली , नन्द बहादुर शाह , श्याम कुमार घर्ती , जित बहादुर पुन लगायतकोलाई रोजगारदाता कम्पनिले काम मात्र लगाएको र तलब नदिएको बताएका छन।
कम्पनिले तीन बर्ष सम्म तलब भुक्तानी गर्दै आएपनि पछिल्लो १ बर्षको तलब तथा सेवा सुबिधा नपाएपछि उनिहरुले आफू लाई पठाउने म्यानपावर कम्पनी लाई त्यस्तै मलेसिया स्थिय नेपाली राजदूतावास र रोजगारदाता कम्पनीलाई पनि पटकपटक भनसुन गर्दा , निवेदन पेश गर्दा सम्म खासै वास्ता नगरेको , उद्धार नगरेको गुनासो ती नेपाली श्रमिकहरुले मलाया खबरलाई सुनाएका थिए।

यसरी बिदेशको ठाउँमा तलब बिना बस्नुपर्दाको पिडाहरुको दर्जनौं चाङ्ग भएको गुनासो समेत पोखे ती श्रमिकहरुले। आफ्ना समस्याहरु दर्जनौंपटक म्यानपावर र दूतावास लाई सुनाउदा पनि केही सीप नलागेपछि अन्ततः उद्धार गरिदिन गैर आवासीय नेपाली संघ मलेशियाको शरणमा पुग्न बाध्य भएका थिए।
पीडितहरुले दिएको निवेदनको आधारमा गैर आवासीय नेपाली संघको विशेष भुमिकामा उनिहरुको उद्धार गरि स्वदेश फर्काइएको छ। स्वदेश फर्किनमा म्यानपावर र दूतावासले समेत केहि भुमिका निभाएको भए ता पनि ती श्रमिकहरुले काम गरेको कम्पनीले भुक्तानी गर्न बाँकी रहेको तलब भने दूतावासले श्रमिकको हातमा दिलाउन सकेन। ती श्रमिकहरु खाली हातनै फर्किन बाध्य भए।

ती नेपाली श्रमिकहरु नेपाल फर्किन एनआरएनएको बारम्बारको पहलमा कम्पनीले हवाई टिकट उपलब्ध गराएको र अन्य बाँकी यातायात खर्च,पिसि आर टेस्ट लगायतको सम्पुर्ण खर्च गैर आवासीय नेपाली संघ मलेसियाले ब्यावस्थापन गरेको,तिरेको जानकारी एनआरएनए मलेसियाले दिनुभयो।
तर यता मलेसिया स्थित नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेक बुढाले बताए अनुसार काम गरेको तलबनै नलिई नेपाल फर्केका ती ६ जना नेपाली श्रमिकहरुको मुद्दा कानुनी प्रक्रियामा अगाडि बढिसकेको र रोजगारदाता सेक्युरिटी कम्पनीलाई कालो सुचीमा राख्नलाई दूतावासको तर्फबाट सम्बन्धित निकायमा पत्राचार समेत गरिसकिएको जानकारी दिनुभयो। त्यस्तै ती नेपाली श्रमिकहरुलाई कम्पनीबाट पाउनुपर्ने क्षेतिपुर्ती समेत उपलब्ध गराउन,दिलाउन दूतावास लागिपरेको बताउनुभयो।
ती ६ जना सुरक्षागार्डको क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको पीडा जस्तै काम गरेको तलब नपाएको, बिरामी हुँदा समयमै उपचार नपाएकोले अकालमै ज्यान गुमाएको , जथाभावी बिनाकारण तलब कटौती गरेको घटना र गुनासोहरुको बिगबिगीनै छ्न मलेसियामा तर यी र यस्ता नेपाली श्रमिकका मुद्दामा मलेसिया स्थित नेपाली दूतावास निरीह बन्दा र समयमै केहि आवश्यक कदम चाल्न नसक्दा नेपाली श्रमिकहरुको मुद्दा हरु ज्यु का त्यु रहने गरेको पाइएको छ ।
न त नेपाली श्रमिकले न्याय पाउछ न त उद्धार नै ! अन्त्यमा त्यस्ता नेपाली श्रमिकहरु गैर आवासीय नेपाली संघ, प्रवासी नेपाली समन्वय समिती (पिएनसीसी) जस्तै अन्य विभिन्न नेपाली संघसंस्थाको आर्थिक भौतिक सहयोगमा खाली हात स्वदेश फर्किन बाध्य हुने गरेका छ्न। मलेसियामा कार्यरत आम नेपाली श्रमिक र संघसंस्थाको अगुवाहरुले समेत कुटनैतिक नियोगलाई प्रश्न गर्ने गरेको छ , आखिर् किन यस्तो ? र कहिलेसम्म नेपाली श्रमिकहरु ले विभिन्न बहानामा दु:ख पाईरहने?





















