मुम्बई:= बलिउड अभिनेता अक्षयकुमार स्टारर चलचित्र ‘बेल बटम’को आम्दानी सार्वजनिक भएको छ । सुरुवाती दिनमा बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेको यो चलचित्रले रिलिजको एक महिना पूरा हुँदै गर्दा ५० करोड कमाएको हो ।
कोभिडपछि सिनेमा हलमा प्रदर्शन भएका चलचित्रमध्ये स्वदेश (भारत) मा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड ‘बेल बटम’ ले बनाएको हो । चलचित्र गत १९ अगष्टमा प्रदर्शनमा आएको थियो । चार दिने विकेन्डमा १३ करोड २५ लाख कमाएको चलचित्रले प्रदर्शनको एक महिनामा घरेलु बक्स अफिसमा ३० करोड छापेको छ ।
त्यस्तै, विदेशमा यो चलचित्रले २० करोड कमाइ गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । देश र विदेशको कमाई छाड्ने हो भने चलचित्रले प्रदर्शनको एक महिनामा ५० करोड कमाउन सफल भएको छ । ४५ करोडमा बनेको चलचित्रले लगानी उठाएको छ ।
यो चलचित्रको छायांकन कोरोना महामारीको समयमा भएको थियो । अब ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेको चलचित्रलाई रञ्जित एम तिवारीले निर्देशन गर्नुभएको हो । चलचित्रमा अक्षयका अलावा वाणी कपूर, हुमा कुरैशी, आदिल हुसेन र लारा दत्ताको पनि अभिनय रहेको छ । चलचित्रमा लाराले भारतकी पूर्व–प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्नुभएको छ ।



















