विद्युतिय ट्रान्समिसन निर्माणमा जताततै अवरोध।

काठमाडौं:= नेपाल-भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा अवरोधै अवरोध छ । अवरोधकै कारण आठ वर्षअघि निर्माण सुरु भएको आयोजनाको काम अझै सकिएको छैन । नेपाल विद्युत् प्राधिकरणका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा जोडिने प्रसारण लाइन १० वटा जिल्ला पार भएर जान्छ । प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माणमा ढिलाइ भएको हो ।

रणनीतिक महत्वको आयोजना निर्माण सम्पन्न हुन नसक्दा  चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन सकिएको छैन ।  पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने दुई सय ८८ किलोमिटर प्रसारण लाइनका लागि सात सय ९२  टावर निर्माण गर्नुपर्छ । जसमध्ये छ सय ५९ टावरको जग हालिएको छ भने छ सय ३३ खडा गरिएको छ । रुख कटानको स्वीकृतिमा भएको ढिलाइ र स्थानीयको अवरोधका कारण बाँकी टावरको निर्माण हुन नसकेको प्राधिकरणले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका वडाहरू १५, १६ र १७ स्थित हटिया बासिन्दाको अवरोधका कारण निजी जग्गामा पर्ने १४ टावरको काम रोकिएको छ । प्राधिकरणले अवरोध हटाउन बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री एवं हेटौंडा नगरपालिकाका पूर्वप्रमुख डोरमणि पौडेल, स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, प्रभावितसँग पटक-पटक छलफल गरे पनि समस्या समाधान हुन सकेको छैन ।

स्थानीयले मार्ग परिवर्तनको माग गर्दै सामुदायिक वनमा पर्ने टावरसमेत निर्माण गर्न दिएका छैनन् भने निर्माण गरिएका दुईवटा टावर सार्न माग गरिरहेका छन् । उनीहरूले प्रसारण लाइन मानवबस्तीबाट नलगी जंगलबाट लैजानुपर्ने माग गरेका छन् । निर्माणमा निरन्तर अवरोधपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, आयोजना प्रमुख श्याम यादवको टोलीले केही दिनअघि अवरोधस्थलको अवलोकन गरी प्रभावितसँग छलफल गर्दै राष्ट्रिय महत्वको प्रसारण लाइन निर्माणमा सहयोग गरिदिन आग्रह गरेको छ । घिसिङ भन्नुहुन्छ, ‘माथिल्लो तामाकोसीको बिजुली ढल्केबरबाट पश्चिमतर्फ ल्याउन नसक्दा यता नपुग्ने, उता खेर फाल्नुपर्ने बाध्यात्मक अवस्था छ, यस्तो अवस्थाको अन्त्य गर्न यो लाइन जतिसक्दो छिटो निर्माण गर्नुपर्नेछ, मुआब्जा तथा क्षतिपूर्तिका विषयमा छलफल गरौं, विवाद चर्काउनेभन्दा पनि टुंग्याउनतर्फ लागौं ।’ वडा १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले मानवबस्ती छलेर प्रसारण लाइन लैजाने अवस्था हुँदाहुँदै यसतर्फ आयोजना व्यवस्थापनले ध्यान नदिएको बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘विकास विरोधी हैनौं, अहिलेको मार्ग व्यावहारिक छैन, मुआब्जा तथा क्षतिपूर्ति दिनुनपर्ने गरी वन क्षेत्रबाट लाइन लैजानुपर्छ, समस्या समाधानका लागि आवश्यक सहयोग गर्न हामी तयार छौं ।’ स्थानीयले सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर र सिराहाको लाहान पडरिया क्षेत्रमा पनि अवरोध गरेका छन् ।