काठमाडौं:= राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणीय सवालमा राजनीति गर्न नहुने बताउनुभएको छ । वातावरण, बालबालिका र शिक्षा क्षेत्रलाई राजनीतिमुक्त राखिनुपर्ने उहाँको भनाइ छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पदाधिकारीसँग राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको होे ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा वातावरणीय मुद्दामा सबै पक्ष एक भएर आपसी मनमुटाव थाती राखेर प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वातावरणीय सवालमा सबै पक्षले भावी सन्ततिका लागि सोच्नुपर्ने हुन्छ, दल तथा गुटगत आग्रहभन्दा यो जहिले पनि माथि हुनुपर्छ ।’
नेपालको चुरे क्षेत्रको संरक्षणप्रति चिन्ता व्यक्त गर्दै उहाँले चुरे संरक्षणमा सही काम होस् भनी आफूले निरन्तर झक्झक्याइरहेको बताउनुभयो । नेफेजका अध्यक्ष कसमस विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी वातावरणीय विषया राष्ट्रपतिको ध्यानाकर्षण गराएको हो । नेफेजले जलवायु परिवर्तन र कोप २६, प्राकृतिक विपत्ति, विद्यमान अव्यवस्थित सहरीकरण, चुरे संरक्षण, वन संरक्षणलगायत विषय समेटिएको ध्यानाकर्षण पत्र बुझाएको छ ।



















