काठमाडौं:= प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधबीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको विरोधबीच राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रियसभासमक्ष टेबुल गर्नुभएको हो ।
राष्ट्रियसभा बैठकको प्रारम्भमा बोल्दै नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरूलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र अध्यादेश लागू गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताउनुभयो । उहाँले नेकपा (एमाले)ले कारबाही गरेका सांसदहरूको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रियसभा बैठकको अवरोध जारी राख्ने बताउनुभयो ।
बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गर्नुभयो । बैठक सुरु हुनासाथ सदाझैं एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिनुभएको थियो । त्यसपछि बोल्न सुरु गर्नुभएका सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरूलाई कारबाही गरेको सिफारिसअनुसार उनीहरूलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोपसमेत लगाउनुभयो ।
सांसद श्रेष्ठले गैरसांसदहरूलाई सांसद भनेर संसद्मा राखिन्छ भने त्यसले त्यो संसद्को र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भनी प्रश्नसमेत गर्नुभयो । उहाँले संविधानविपरीत, संसद्को मर्यादाविपरीत आफ्नो दलले कारबाही गरेर १४ जना सांसदहरूलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न दिने अवस्थामा आफ्ना पार्टी नरहेको स्पष्ट पार्नुभयो ।



















