बलिउड अभिनेत्री पायल घोषमाथि मुम्बइमा एसिड आक्रमणको प्रयास।

एजेन्सी := बलिउड अभिनेत्री पायल घोषले आफूमाथि एसिड आक्रमणको प्रयास भएको र आफू मुस्किलले बचेको बताएकी छिन् । सामाजिक संजालमार्फत एक भिडियो जारी गर्दै पायलले केही व्यक्तिहरुले आफूमाथि एसिड तथा रडले आक्रमण गर्ने कोसिस गरेको बताएकी छन् । पायलका अनुसार उनी आफ्नो घर मुम्बइ जाँदै गर्दा कारमा चढ्न लागेका बेला केही मानिसहरुले उनीमाथि आक्रमण गर्ने कोसिस गरेका थिए।

ती मानिसहरुले उनीसँग भएका सामान लुट्ने प्रयास गरेका थिए। पायलका अनुसार उनीहरुसँग एउटा बोतल थियो । त्यसमा एसिड भएको पायलले बताएकी छिन् । उनका अनुसार आक्रमणकारीहरुले मास्क लगाएका थिए । उनीहरुले पायलको टाउको र हातमा हिर्काउने प्रयास गरे । त्यसपछि पायलले सहयोगको लागि चिच्याउन थालेपछि ती व्यक्तिहरु भागे ।

पायलले सामाजिक संजालमा आफ्नो चोटसहित पोस्ट पनि शेयर गरेकी छिन् । पायलसँग यो घटना मुम्बइको अंधेरी क्षेत्रमा भएको थियो । पायलका अनुसार ती आक्रमणकारीहरुले आक्रमण गर्दा रडले उनको बायाँ हातमा लागेको छ । यसअघि पायल त्यतिबेला चर्चामा आएकी थिइन् जतिबेला उनले अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।