काठमाडौं := काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पर्ने गरेको छ ।
उनले बारीबाट तरकारी टिपेर बिचौलियाको हातमा त पार्छन् तर आफ्नाे तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन। उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०/४० रुपैयाँ थमाउँछन्।
किसान सुभाष लुइँटेल भन्छन्, ‘बजारमा जति मूल्य भए पनि किसानले ३० देखि ४० रुपैयाँभन्दा बढी पाउँदैनन् । बजारमा तरकारीको मूल्य जति वृद्धि भए पनि किसानले २५ प्रतिशतभन्दा बढी कसैले पाएको हुँदैन । सबै बिचौलियाले लिने गरेका छन्।’
त्यसो त किसानहरूले बिचौलियासँग बजारको मूल्य हेरेर कहिलेकाहीँ कुरा पनि गर्छन् । तर, बिचौलियाको ‘रेडिमेड’ जवाफले उनीहरू मर्माहत हुन्छन् । बिचौलियाको रेडिमेड जवाफ हुने गरेको छ, ‘तिमीहरूले उत्पादन गरेको तरकारी तिमीहरू नै राख ।’ यो समाचार आजको राजधानी दैनिकमा छ।




















