लन्डन:= इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहम हटस्परमाथि ३–० को सानदार जित हात पारेको छ । चेल्सीको जितमा थियागो सिल्भा, एङ्गोलो कान्टे र एन्टेनियो रुडिगरले गोल गर्नुभयो ।
दोस्रो हाफको सुरुमै ब्राजिली डिफेन्डर थियागो सिल्भाले गोल गर्दै पाहुना टोली चेल्सीलाई १–० को अग्रता दिलाउनुभयो । उहाँले मार्काेस अलन्सोको पासमा गोल गर्नुभयो । ५७औं मिनेटमा एंगोलो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्नुभयो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्टेनियो रुडिगरले टिमो वेर्नरको पासमा गोल गर्दै चेल्सीलाई सहज जित दिलाउनुभयो ।
जितपछि अपराजित रहेको चेल्सी पाँच खेलबाट १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान १३ अंक नै रहे पनि लिभरपुल र म्यानचेस्टर युनाइटेड गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा रहेका छन् । लिगमा लगातार दोस्रो हार बेहोरेको टोटनहम नौ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
आइतबार राति नै ब्राइटनले लेस्टर सिटीलाई तथा म्यानचेस्टर युनाइटेडले वेस्ट हृयाम युनाइटेडलाई समान २-१ ले पराजित गरेको छ ।
यता इटालियन सिरी ‘ए’ मा युभेन्ट्स र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको चौथो मिनेटमा नै अल्भारो मोराटाको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ७६औं मिनेटमा एन्टी रेबिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो ।
यो नतिजापछि युभेन्ट्सले नयाँ सिजनको सिरी ‘ए’ मा जित निकाल्न सकेन । सिरी ‘ए’ मा चार खेल खेल्दा युभेन्ट्सले दुई बराबरी र दुई हारको नतिजा निकालेको छ । बराबरीपछि मिलानले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । समान १० अंक रहे पनि मिलान दोस्रो तथा इन्टर मिलान शीर्षस्थानमा रहेका छन् । युभेन्ट्स दुई अंक जोडेर १८औं स्थानमा रहेको छ ।
फ्रेन्च लिग वानमा भने पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार छैटौं जित दर्ता गर्नेक्रममा लियोनमाथि २-१ को पुनरागमन जित निकालेको छ । पीएसजीको जितमा नेयमार र मोउरो इकार्डीले गोल गर्नुभयो । पाहुना टोली लियोनले ५४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट अग्रता लियो ।
६६औं मिनेटमा नेमारले पेनाल्टीमार्फत् गोल गर्दै पीएसजीलाई खेलमा फर्काउनुभयो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सब्सिच्युट मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई पुनरागमन जित दिलाउनुभयो।
यो जितपछि लगातार छैटौं खेलमा जित निकालेको पीएसजीको १८ अंक पुगेको छ । पीएसजीले एक खेल कम खेलेको मार्सेलाई पाँच अंकले पछि पारिसकेको छ । पराजित लियोन आठ अंक जोडेर नवौं स्थानमा रहेको छ ।




















