अफगानिस्तानमा खुल्न थाले विद्यालय।

काबुल:= अफगानिस्तानमा विद्यालय खुल्न थालेका छन् । तालिवानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय एक महिनापछि खुल्न थालेका हुन् । अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा)हरू शनिबारदेखि सञ्चालनमा आएका छन्।

मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन–अध्यापनमा फर्किन आग्रह गरेको छ । यसैबीच अफगानिस्तानमा नैतिकतासम्बन्धी मन्त्रालय ब्युँत्याइएको छ । केही दिनअघि बनाएको सरकारमा महिला मन्त्रालय राखिएकोमा त्यो बन्द गरिएको छ भने नैतिकता मन्त्रालय ब्युँत्याइको छ ।

तालिवानले सन् १९९६ देखि २००१ सम्मको शासनकालमा नैतिकतासम्बन्धी मन्त्रालयका माध्यमबाट कडा इस्लामिक शासन लागू गरेको थियो । शुक्रबार तालिबानले महिला मन्त्रालय खारेज गरेर यसको ठाउँमा सद्गुण र दुर्गण निर्धारण गर्ने नैतिक मन्त्रालय स्थापना गरेको हो ।

तालिवानले यसअघि आफूहरू २० वर्ष पहिले सत्तामा रहँदा जस्तो नरहेको, परिवर्तन भएको बताएको थियो । तालिवानका नेताहरूले महिलाहरूले काम गर्न पाउने र शिक्षामा रोकटोक नगरिएको वाचा गरेका थिए । तर, महिला अधिकार र शिक्षालाई लिएर उसले गरिरहेका पछिल्ला गतिविधि भने वाचाभन्दा विपरीत देखिएका छन् ।