नेपाल पहिलोपल्ट अमेरिकासँग अन्तर्राष्ट्रिय क्रिकेटमा पराजित।

काठमाडौं:= नेपाल पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकासँग पराजित भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा शुक्रबार राति नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको हो ।

यसअघि खेलेका तीनै खेलमा नेपालले अमेरिकामाथि सहज जित हात पारेको थियो । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । गत वर्ष नेपाल पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अमेरिकालाई नेपालले ३५ रनमा अलआउट गरेको थियो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ दशमलब तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गर्नुभयो । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाउनुभयो । सुशान्त मोदानीले दुई रन जोड्नुभयो ।

नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले १०५ बलमा तीन चौका प्रहार गर्नुभयो । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुल्शन झाले २८ रन बनाउनुभयो । त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी २/२ रनमा आउट हुनुभयो ।

ओपनर आसिफ शेख पनि तीन रनमा आउट हुनुभयो । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित दुई रन जोड्नुभयो । अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले चार विकेट लिनुभयो भने केली फिलिपले तीन विकेट लिनुभयो । त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक/एक विकेट लिनुभयो ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित हुन पुगेको थियो । नेपालले अन्तिम खेल ओमानसँग आइतबार खेल्नेछ ।

ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृंखला खेल्न नेपाली टोली ओमान गएको हो । ज्ञानेन्द्र मल्लले कप्तानी गरेको टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहनुभएको छ । टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहनुभएको छ ।

ओमान शृंखला आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो ।

विश्वकप लिग-२ मा नेपाल रहेको समूहमा पपुवा न्युगिनी, ओमान, अमेरिका, स्कटल्यान्ड, नामिबिया र युनाइटेड अरब इमिरेट्स् (यूएई) रहेका छन् । लिग-२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग गत वर्ष चार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । नेपालले दुई खेलमा अमेरिकालाई हराएको थियो भने बाँकी दुई खेलमा ओमानसित पराजित भएको थियो । पाँचौं खेलमा नेपालले अमेरिकालाई हराउँदै ६ अंक जोडेको छ । नेपाल आफ्नो समूहको अंकतालिकाको छैटौं स्थानमा छ ।

यस्तै ओमान १२ खेलमध्ये दसमा जित र दुईमा हार बेहोर्दै २० अंकसहित शीर्षस्थानमा छ । अमेरिका १५ खेलमा सात खेलमा जित र आठमा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अंक जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाका कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै आठ अंकसहित चौथो स्थानमा छ ।

यसैगरी यूएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अंक जोड्दै पाँचौं स्थानमा छ । यूएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अंकविहीन बन्दै लिग-२ को पुछारमा छ ।

लिग-२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्नेछन् । लिग-२ का शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन् भने पुछारमा रहने चार टोलीले प्ले अफ खेल्नेछन् ।