चुनावपछि अहिलेको गठबन्धन आइसको डल्ला जस्तै पग्लिएर जान्छ: ओली।

काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन १४ महिनापछि आइसको डल्लो जस्तै पग्लिएर जाने टिप्पणी गर्नुभएको छ । गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै भएको उल्लेख गर्नुहुँदै उहाँले बाध्यकारी रूपमा १४ महिनापछि हुने निर्वाचनमा गठबन्धन नरहने बताउनुभएको हो । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलाललाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१४ महिनामा चुनाव हुन्छ । १५ महिनामा सरकार बन्छ । यी कता हराउँछन् । कता बिलाउँछन् । यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफैँ परेको आइस होइन यो । फ्रिजमा बनाइएका आइस हुन् । यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लिहाल्छन् ।’

अध्यक्ष ओलीले आफूले निर्वाचन घोषणा गर्दा डरले काँपेर गठबन्धन बनाएको पनि बताउनुभयो । १४ महिनापछि पनि निर्वाचन गर्नैपर्ने बाध्यकारी अवस्था रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचन गर्दा के प्रतिगमन हुन्छ त ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन थरथर काम्दै डराउँदै । चुनाव प्रतिगमन हुन्छ त के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा ? अब १४ महिनापछि चुनाव त गर्नुपर्छ । के देश अनिवार्य रूपमा प्रतिगमनमा जानेभयो त चुनाव गर्दा । जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो ? संविधान मिचिएको हो त ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरूले ? तर चुनाव गराउन यिनीहरू बाध्य छन् ।’

‘सेटिङमा करका दर हेरफेर भए’

अध्यक्ष ओलीले वर्तमान सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्ने गरी सेटिङमा करका दरहरू हेरफेर गरेको आरोप पनि लगाउनुभएको छ । सेटिङमा भन्सार छुट दिने गरेर अर्बौैंको खेल गरेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले सेटिङमा अर्बौैं रुपयाँ तलमाथि पर्ने गरी करको दर हेरफेर गरेको उहाँले बताउनुभयो । आममानिस र सञ्चारमाध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उहाँले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अर्बौंको खेल भइसक्यो । कसरी यतिबेर यो बीचमा आएर करका दरहरू यत्रो ठूलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौंको तलमाथि पर्ने गरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरू खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन ।’

सरकारलाई सहयोग गर्न कर्मचारीहरूलाई निर्देशन

आफ्नो पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरूलाई उहाँले जुनसुकै पार्टीको सरकार भएपनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको सरकारलाई पनि सहयोग गर्न निर्देशनसमेत दिनुभयो । जुन पार्टीको सरकार भए पनि कर्मचारीहरूले आफ्नो कर्तव्य, नियम, कानुनको परिधिभित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो काम देशको सेवा गर्ने हो । जनताको सेवा गर्ने हो । कर्तव्यनिष्ठ भएर सेवा गर्ने हो । त्यसकारण कुन सरकार छ भन्ने कुरा होइन, आफ्नो कर्तव्य नियम, कानुनबमोजिम, नियम, कानुनको परिधिभित्र रहेर आफ्नो कर्तव्य जुनसुकै सरकार आओस् तपाईंहरूले सक्रियताका साथ निर्वाह गर्नुपर्छ । सरकारलाई असहयोग गर्ने होइन । सरकारलाई असहयोग गर्ने भनेको काम नगर्ने हो । काम नगर्ने भनेको देश विकासलाई अझ पछाडि पार्ने हो ।’

उहाँले विगतमा आफ्नो सरकार हुँदा कांग्रेस र माओवादीले आफूनिकट कर्मचारीहरूलाई काम नगर्न निर्देशन दिने गरेको दाबी गर्नुहुँदै त्यस्ता बुद्धिको पछाडि लाग्न नहुनेसमेत बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘यो बुद्धि त कांग्रेस र माओवादी केन्द्रको जस्तो भएन ? यस्तो बुद्धिका पछाडि लाग्नु हुँदैन । हामी राष्ट्रसेवक हौँ । तपाईंहरूले कुनै पार्टीको सदस्य भएर सेवा प्रवाह गर्ने होइन । उसले प्राप्त गर्ने सेवा उसको अधिकारको कुरा हो । त्यो सेवा उसलाई उपलब्ध गराउनु तपाईंहरूको कर्तव्य हो ।’

कर्मचारीहरूले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रूपमा सेवा पु¥याउनुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले कर्मचारी भ्रष्टाचारको विरोधी र स्वच्छताको प्रतीक हुनुपर्ने पनि बताउनुभयो ।

एमालेबाट चोइटिएकाहरू समाप्त हुन्छन् : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरू समाप्त हुने बताउनुभएको छ । उहाँले एमालेबाट चोइटिएर जानेहरूको भविष्य नभएको बताउनुभयो । उहाँले एमालेको चरित्र विभाजन र विखण्डन नभई एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताउनुभयो । विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले देखा परेको नकारात्मक धार को को नेता गए, कोको नेताहरू चोइटिएर गए त्यो छोडिदिनुस् । म एउटा कुरा भन्न चाहन्छु, त्यो नकारात्मक धार, विग्रहको धार, विभाजनको धार त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन । त्यो अन्त्य हुनेछ ।’ नेकपा एमालेले सधैँ एकताको पक्षपोषण गर्ने भएकाले पनि विभाजित हुनेहरूको भविष्य नहुने गरेको विगतको अनुभव भएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा (एमाले)ले बोकेको चरित्र भनेको एकताको पक्षपोषण गर्ने, विभाजन होइन, विखण्डन होइन, एकताको पक्षमा दृढतापूर्वक उभिने नेकपा(एमाले)को चरित्र हो । विभाजित भएर जानेहरू, चोइटिएर जानेहरू, ती रहने छैनन् । ती समाप्त हुनेछन् । हिजोदेखिका सबै कुराहरू हामी सम्झना गरौँ । विभाजन टिकेन । विभाजन थामिएन । विभाजनको भविष्य अन्धकार थियो । अहिले पनि अन्धकार छ । त्यो टिक्दैन । त्यो समाप्त हुन्छ भन्नेकुरा बुझ्नुपर्ने जरुरत छ । यो राष्ट्रिय आवश्यकतालाई बेवास्ता गरेर जुन एउटा गलत कर्म भएको छ, त्यसको अन्त हुनु स्वाभाविक हो ।’

निजामती क्षेत्रमा भ्रष्टाचार मौलायो : बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवाभित्र शुद्धीकरण आवश्यक रहेको बताउनुभएको छ । भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उहाँको भनाइ थियो । कर्मचारीहरूले आफ्नो जिम्मेवारीप्रति उदासीन हुने हो भने देशको विकास नहुने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘प्रशासनबाट, निजामती कर्मचारीबाट सत्ता सञ्चालनमा भ्रष्टाचारलाई उन्मूलन गर्न जरुरी छ । भ्रष्टाचारको अन्त्य नगरीकन, त्यसलाई नियन्त्रण नगरीकन देशलाई समृद्ध बनाउन सकिँदैन । प्रशासनभित्र ठूलो शुद्धीकरण अभियान हामीले चलाउनु जरुरी छ । विकासका फाइलहरू, योजनाका फाइलहरूलाई हाम्रा कर्मचारीहरूले समयमा फैसला नगर्ने, निर्णय नगर्ने, त्यसलाई टुंगोमा नपु¥याउने, विकास कसरी हुन सक्छ ? त्यो फाइल अगाडि बढाउन उनीहरूले त्यसबापत् कुनै सुविधाको आस गर्छन् भने यो किसिमले कसरी विकास हुन सक्छ ।’

जनताप्रति र आफ्नो जिम्मेवारीप्रति उदासीन भए देश विकासमा सहयोग नपुग्ने बादलको भनाइ थियो । जनताप्रति समर्पित नभए देशले कसरी प्रगति गर्छ भन्ने प्रश्न गर्नुहुँदै उहाँले भन्नुभयो, ‘जनताप्रतिको उदासीनता, आफ्नो जिम्मेवारीप्रतिको उदासीनता हो । जवाफदेहिता हामीमा भएन । जनताप्रति हामी समर्पित भएनौँ । हामीले जनताको सेवकको रूपमा होइन कि जनताको मालिकको रूपमा आफूलाई ठान्यौं भने देशले कसरी प्रगति गर्न सक्छ ?’ उहाँले प्रशासन सञ्चालनको कार्यशैलीमा आमूल परिवर्तन गर्नुपर्ने पनि बताउनुभयो ।