एजेन्सी := एएफसी महिला एसियान कप छनोटअन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको तास्केन्तमा शनिबार साँझ भएको खेलमा नेपाल २-१ ले पराजित भएको हो ।
सुरुवाती अग्रता लिएको नेपालले खेलको अन्तिम समयमा लगातार दुई गोल ब्यहोरेको थियो । खेलको दशौं मिनेटमा विमला चौधरीले नेपाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । उहाँले सविता रानाको लामो क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्नुभएको थियो ।
नेपालले खेलको ९०औं र इन्ज्युरी समयको दोस्रो मिनेटमा लगातार दुई गोल व्यहोर्यो । ९०औं मिनेटमा क्रसमा आएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट ताहनाइ एनिसले बराबरी गोल गर्नुभएको थियो । इन्ज्युरी समयमा ६ यार्ड बक्स नजिकबाट कमिल विल्सनले विजयी गोल गर्दा नेपाल स्तब्ध बन्यो । नेपालका लागि दोस्रो हाफमा मैदान प्रवेश गर्दै डिफेन्डर विमला विकले सिनियर टोलीबाट डेब्यु गर्नुभयो । उहाँले ६३औं मिनेटमा पूजा रानाको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।
यस जितसँगै फिलिपिन्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले अब अर्को खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेल जितेमा नेपाल एसियन कपका लागि छनोट सम्भावना जिवित रहनेछ । समूह विजेता सोझै एसियन कपको लागि छनोट हुने प्रावधान छ ।
नेपालले यसअघि १९८६, १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो । सुरुवाती दुवै पटक प्रतियोगिता हङकङमा भएको थियो । नेपाल त्यसबेला सबै ६ खेलमा पराजित हुँदा गोल गर्न सकेको थिएन । १९९९ को प्रतियोगितामा भने नेपालले चौथो तथा अन्तिम खेलमा गोल गरेको थियो ।
फिफा वरीयतामा फिलिपिन्स नेपालभन्दा ३३ स्थान माथि रहेको छ । महिलाको फिफा वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ । फिलिपिन्स ६८औं स्थानमा छ । नेपालले सुरुवाती-११ मा गोलकिपरमा अञ्जिला सुब्बा, डिफेन्डरमा हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, मिडफिल्डरमा पूजा राना,रेनुका नगरकोटी,सरु लिम्बु, मञ्जली कुमारी योन्जन र फरवार्डमा प्रीति राई, सविता राना, विमला चौधरीले स्थान पाउनुभएको थियो ।




















