काठमाडौं:= नेपाल उद्योग परिसंघ (सीएनआई)ले कोरोनाविरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेको छ । सीएनआईले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै खोपको पूर्ण मात्रा लगाएका र पीसीआर नेगेटिभ भएकालाई क्वारेन्टाइन बस्नुनपर्ने व्यवस्था गर्न भनेको हो ।
पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै सीएनआईले पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि सरोकारवाला निकायसँग सहकार्यमा जोड दिएको छ । सीएनआई राष्ट्रिय परिषद् सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदुरलाई पूर्णरूपमा खोप उपलब्ध गराउन माग गरेको छ ।
नेपाल आउन चाहने पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णयसमेत गरेको छ । सीएनआई उपाध्यक्ष राजबहादुर शाहले कोरोना प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । उहाँले विभिन्न देशले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला नगरेको भन्दै नेपालमा विदेशी पर्यटक आउन सक्ने वातावरण बनाउन परिसंघले कूटनीतिक पहल अघि बढाउने जानकारीसमेत गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘भ्याक्सिनको तीव्र वितरणमार्फत् नेपाललाई सुरक्षित गन्तव्यको पहिचान दिन आवश्यक छ, त्यसको पहल परिसंघले गर्नेछ ।’ समितिकी सभापति धमलाले कोरोनाले पर्यटन क्षेत्रमा गम्भीर संकट परेको भन्दै पर्यटनलाई पुरानै लयमा फर्काउन धेरै काम गर्नुपर्ने बताउनुभयो । परिषद्की राष्ट्रिय परिषद् सदस्य छायाँ शर्माले नीतिगत तहबाट नै पर्यटन प्रवद्र्धनका लागि सीएनआईले पहल गर्नुपर्ने बताउनुभयो ।
समिति सदस्यहरू राहुल चौधरी, अशोक पोखरेल, प्रवीण पाण्डे र शारिक लारीले पर्यटन क्षेत्रमा कोरोनाबाट समस्याग्रस्त पर्यटन पुनरुत्थानका लागि सीएनआईले नेतृत्वदायी भूमिकामा काम गर्न सक्ने बताउनुभयो । समितिमा छायाँ शर्मा, राहुल चौधरी, शारिक लारी, अशोक पोखरेल, प्रवीण पाण्डे, तिलक लामा, शेखर प्रसाई, लाक्फुली शेर्पा र हिक्मत सिंह ऐर सदस्य रहनुभएको सीएनआईका निर्देशक सविन शर्माले जानकारी गराउनुभएको छ ।




















