काठमाडौं := सरकारले शुक्रबारदेखि चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् ३९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्य पसलमा खुला बजारभन्दा प्रतिकेजी १० रुपैयाँसम्म कम मूल्य पर्ने बताइएको छ । मोटा, मसिनो चामल र चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, सीमी, फापर र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट हुनेछ भने नुनमा दुई रुपैयाँ छुट प्रदान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । त्यस्तै भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिइएको छ भने तोरी र सनफ्लावरमा पाँच रुपैयाँ छुट दिइएको छ।
त्यसैगरी साल्ट टे«डिङ कर्पोरेसनले पनि शुक्रबारदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्टले उपत्यकामा तीन घुम्तीसहित नौ स्थानमा र मोफसलमा २३ स्थान गरी ३२ स्थानबाट सेवा प्रदान गर्ने भएको छ । काठमाडौं उपत्यकाभित्र कालिमाटीमा दुई स्थान, कोटेश्वर, सतुंगल, जावलाखेल र भक्तपुर गरी छ स्थान र तीन स्थानमा घुम्ती सेवा गरी नौ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन्।
उपत्यकाबाहिर बनेपा, त्रिशूली, विराटनगर, राजविराज, लहान, हेटांैडा, नारायणगढ, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बाग्लुङ, नेपालगञ्ज, भैरहवा, दाङ, टिकापुर, बेलौरी, कृष्णनगर, धनगढी, महेन्द्रनगर, सुर्खेत, दिपायल, डडेल्धुरामा पनि शुक्रबारदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । कात्तिक २४ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा नुन प्रतिकेजी १८ रुपैयाँ र चिनी प्रतिकेजी ७९ रुपैयाँमा उपलब्ध हुनेछ।
यस वर्ष मौज्दात कम भएका कारण प्रतिग्राहक चिनी दुई केजीका दरले मात्र उपलब्ध हुनेछ भने नुन छ केजी उपलब्ध हुनेछ । हाल कर्पोरेसनमा तीन सय मेट्रिक टनमात्र चिनी मौज्दात रहेको छ । मासिक तीन हजार मेट्रिक टनको माग रहेकोमा मागको १० प्रतिशतसम्म मात्र चिनी मौज्दात रहेको साल्ट टे«डिङले जनाएको छ । दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, तेल, मसला, पिठो, गेडागुडी, सीमी, फापर, मैदा, आँटा, खाद्यान्नका अन्य वस्तुहरूको हकमा पनि बजारमूल्यभन्दा न्यूनतम मुनाफा राखी बिक्री गरिने साल्ट टे«डिङले जनाएको छ।




















