‘ओली सरकारले एमसिसीका बारेमा सीमा नाघेर निर्णय गरेको छ ’
काठमाडौं:= नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आठवटै सरकारमा आफूहरू सहभागी हुने बताउनुभएको छ । नयाँ बानेश्वरमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले संघ र सातवटै प्रदेश सरकारमा आफ्नो पार्टीको सहभागिता हुने बताउनुभएको हो । सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको उल्लेख गर्नुहुँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताउनुभयो । अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएकोसमेत दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब संसद र सरकारमा हाम्रो भूमिका स्वभाविक रुपमा सत्तापक्षको रुपमा रहनेछ, किनभने हामी गठबन्धन दलको महत्वपूर्ण हिस्सा हौँ । यसर्थमा हाम्रो भूमिका सरकार सञ्चालनमा रहनेछ । सहयोगी रहनेछ । सहकार्य गर्नेछौँ । सँगै अगाडि बढ्नेछौँ । सरकारमा हामी सामेल हुनेछौँ । हामी प्रदेश, संघीय सरकारमा सामेल हुनेछौँ ।’
अध्यक्ष नेपालले प्रदेश नम्बर १ र बागमतीमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने दावी पनि गर्नुभएको छ । अहिले प्रदेश नम्बर १ र बागमती प्रदेशमा नेकपा एमालेको सरकार छ । तर, दुबै प्रदेशमा सरकार अल्पमतमा रहेको छ । उहाँले भन्नुभयो, ‘एक नम्बर र ३ नम्बर सरकारको पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ । सातै वटा सरकारमा पनि हाम्रो सहभागिता रहनेछ ।’
नेपालले प्रत्येक प्रदेशहरूमा रहेका प्रतिनिधहरूबीच सहकार्य भएमा आगामी निर्वाचनसम्म नै गठबन्धनसहित अगाडी बढ्ने पनि बताउनुभएको छ । उहाँले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधहरू सहकार्यका लागि तयार भएमा सोही अनुसार अगाडी बढ्न सकिने पनि बताउनुभयो ।
उहाँले आफ्नो पार्टीको विरुद्धमा भ्रम छर्ने काम भएकाले त्यसको शसक्त प्रतिवाद गर्ने बताउनुभयो । यस्तै नेता नेपालले एकहप्ताभित्र सरकारले पूर्णता पाउने दावी पनि गर्नुभएको छ । असोज ५ गते बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘सरकारले केही दिन भित्रमै पूर्णता पाउनेछ । संसदको बैठक ४ गते र हाम्रो केन्द्रीय कमिटीको बैठक पनि ५ गते बोलाएका छौँ । ५ गतेको बैठकको निर्णयसँगसँगै हामी सरकारमा समावेश हुनेछौँ । त्यसैले यो एक हप्ता भित्रै सबै कुराको टुंगो लगाउनेछाँै । हामीलाई सरकारमा जाने कुरामा कुनै समस्या छैन । पार्टी गठन गरिसकेका छौँ । आज भने आजै र भोलि भने भोलि नै तयार छौँ ।’
एमसिसीको निर्णय जनभावना अनुसार
नेता नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्ने सन्दर्भमा जनताको भावना अनुसार अगाडी बढ्ने बताउनुभयो । नेपालमा चर्चा र विवादमा रहेका विषयहरूमा अमेरिकाले प्रष्टिकरण दिइसकेको र सोही विषयमा अहिले गठबन्धनभित्र छलफल पनि भइरहेको उहाँले बताउनुभयो । नेपालले एमसिसीलाई सोधका सात वटा प्रश्नहरूको जवाफ प्राप्त भएपछि अहिले छलफल जारी रहेको र जनताको भावना अनुसार अगाडी बढ्ने निर्णय हुने उहाँले बताउनुभयो ।
नेता नेपालले तत्कालिन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसीका विषयमा सीमा नाघेर काम गरेको आरोप पनि लगाउनुभएको छ । उहाँले भन्नुभयो, ‘पहिले नेकपा एमालेमा छँदाखेरी तत्कालीन प्रधानमन्त्रीले आजै पास गर्नुपर्छ, भोलि नै पास गर्ने भनेर उहाँले त्यो बेलाका परराष्ट्रमन्त्रीलाई नगर्नुपर्ने ठाउँमा हस्ताक्षर गराउनुभयो । र, उहाँकै अर्थमन्त्रीले विभिन्न हिसावले एमसिसीको निम्ति सीमा नाघेर जाने काम गर्नुभयो । ती सबै कुराहरूप्रतिको हामी आलोचक हौँ ।’
उहाँले अगाडी भन्नुभयो, ‘अहिले हामी प्रश्नहरू सोधेर एमसिसीलाई हामीले पठाएका हौँ, त्यो प्रश्नको जवाफ आएको छ, यो आइपीएसको अंग हुन्छ कि हुँदैन ? यो प्रोजेक्ट कुनै पनि सेक्युरेटी अम्ब्रेलामा बस्नुहुँदैन । यसको कुनै स्वार्थ छ कि छैन । त्यो सेक्युरेटी अम्ब्रेलामा बस्ने शर्त हामीलाई मञ्जुर छैन । त्यसैले हामी कुनै पनि देशको सुरक्षा रणनीति फलो गर्नसक्दैनौँ । हामी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्छौं ।’
पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गर्दै असंलग्न परराष्ट्रनीतिमा समर्पित हुने पनि उहाँले बताउनुभयो । छिमेकी देशहरूले कुनै पनि प्रकारको आशंका उत्पन्न हुने अवस्था र सुरक्षामा आँच पुग्ने स्थितिलाई स्वीकार गर्न नसकिने पनि नेता नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा छिमेकीहरूमा कुनै किसिमको आशंका पैदा हुने स्थिती र सुरक्षामा आँच पुग्ने स्थितीलाई हामी स्विकार गर्न सक्दैनौँ । यो प्रोजेक्ट आउँदा जग्गा जमीन । जहाँ हाइटेक्शन लाइन बन्छ । यो जग्गाको स्वामित्व नेपालको सार्वभौम अधिकार रहने कुराको सुनिश्चितता चाहन्छौँ । यसबाट उत्पन्न हुने बौद्धिक सम्पत्तीमा नेपालको अधिकारको सुनिश्चितता चाहन्छौँ । त्यसमा नेपाली कामदार, नेपाली रोजगारी पाउनेहरूके अधिकारलाई सुनिश्चित गर्न चाहन्छौँ । हामी त्यसको लेखा परीक्षणको निम्ति नेपालको अडिक्टर जनरलको अधिकारको सुनिश्चितता चाहन्छौँ ।’
अध्यक्ष नेपालले गठबन्धन तोड्नको लागि अहिले अनेक किसिमको दाउपेच चलिरहेको बताउँदै भ्रमात्मक कुराको पछि नलाग्न आग्रह पनि गर्नुभएको छ । तत्काल कुनै पनि पार्टीसँग पार्टी एकता नहुने र पाँच दलीय गठबन्धनलाई नै बलियो बनाएर चुनावी मैदानमा उत्रिने नेपालको भनाई छि । नेता नेपालले निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई तालमेल मिलाएर राष्ट्रिय पूँजीलाई विकास गर्ने पार्टीको योजना रहेको उल्लेख गर्नुहुँदै अन्याय र अत्याचारको बिरुद्धमा पार्टी दृढतापूर्वक लागिपर्ने पनि बताउनुभयो ।
‘एमालेमा रहेका नेता फर्किन्छन’
शुक्रबार नै राजधानीमा आयोजना भएको एक अर्को कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेता नेपालले अहिले एमालेमा रहेका केही नेताहरू ढिलो चाँडो पार्टीमा फर्किने बताउनुभएको छ । कतिपय मानिसहरू अल्मल्लिएर एमालेमै बसेको उल्लेख गर्नुहुँदै असल भावना भएका मानिसहरू ढिलो चाडो एकीकृत समाजवादीमा आउने बताउनुभएको हो ।
उहाँले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रुपान्तरीत भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गर्नुभयो । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरू बनिरहेका छन् । पुरानो पार्टी भित्रको क्रान्तिकारी धारले, नेकपा(एमाले) भित्रको क्रान्तिकारी धारले सुरु गरेको यो पार्टीको नयाँ यात्रा हो । क्रान्तिकारीहरू, परिवर्तनकारीहरू, इमान्दार र निष्ठावानहरू अहिले यो पार्टीमा आवद्ध भएका छन् । कतिपय मानिसहरू अझै त्यहाँ अल्मल्लिएका होलान्, असल मानिसहरू पनि भ्रमवश बसिरहेका होलान् । असल भावना भएका मानिसहरू पनि । ति व्यक्तिहरूले ढिलो चाडो हाम्रो यो पार्टीमा आउनैपर्छ । उहाँहरूलाई हामी स्वागत गर्नेछौँ ।’




















