महँगीको मारमा उपभोक्ता, न्यून आय भएकालाई छाक टार्नै मुस्किल।

राज्यका संयन्त्र परिचालन नहुँदा व्यापारीको मनपरी : उपभोक्ता अधिकारीकर्मी

काठमाडौं:= कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण धेरैले रोजगारी गुमाएका छन् । ज्याला मजदुरी गरेर जीवन चलाउनेहरू पनि कामविहीन छन् । कोभिड महामारीका कारण थलिएको अर्थतन्त्र तङरिएको छैन । अर्थात् आम्दानी बढेको छैन । भएकाले गुमाइरहेका छन् । खर्च बढेको बढ्यै छ । महँगी उपभोक्ताको ढाड सेक्ने गरी आकासिएको छ । बजारमा बढेको अचाक्ली महँगीले न्यून आम्दानी हुनेलाई छाक टार्न पनि हम्मे पर्न थालेको छ । तरकारीदेखि खाद्यान्नसम्मको भाउ बढ्दा उपभोक्ताको भान्सा पनि महँगिएको छ । भान्सामा दैनिक प्रयोग हुने तेल, चामल, दाल, आँटा, मैदा, चिनी, आलुलगायत तरकारी महँगिँदो छ । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा न्यून आम्दानी हुने, ज्यालादारी गरेर घरव्यवहार चलाउने र विद्यार्थी बढी मर्कामा परेका छन् ।

एक महिनामा प्रतिकेजी हरियो धनियाँ साढे तीन सय रुपैयाँले महँगिएको छ भने अन्य तरकारीको मुख्य पनि पचासदेखि सय प्रतिशतसम्म बढेको छ । खानेतेलदेखि चामल दालको मूल्य पनि बढेको छ । हरियो तरकारीकै मूल्य एक महिनामा झण्डै चार गुणाले बढेको छ कालीमाटी फलफूल तथा तरकारी बजारमा एक महिनाअघि सय रुपैयाँ प्रतिकिलो रहेको पालुंगोको साग शनिबार २८० देखि ३०० रुपैयाँसम्म बिक्री भएको पाइयो । यही साग बजार हुँदै उपभोक्ताको भान्सामा पुग्दा साढे तीनदेखि चारसय पुग्छ । एक महिनाअघि प्रतिकेजी ९५ रुपैयाँमा पाइने रायो सागको मूल्य शुक्रबार १८० पुगेको छ । त्यस्तै, हरियो धनियाँ महिना दिनअघि दुई सय रुपैयाँ प्रतिकिलो रहेकोमा शुक्रबार साढे चार सय पुगेको छ । यी त कालीमाटी तरकारी बजारमा महँगीको ग्राफ देखाउने प्रतिनिधि दृष्टान्त मात्रै हुन् । अधिकांश तरकारीको मूल्य बढेको छ ।

खाद्यान्नमा पनि महँगी उस्तै छ । एकसातामै मुसुरोको दाल किलोमा ३५ र तेल लिटरमा ४० रुपैयाँ बढेको छ । ११० रुपैयाँ प्रतिकिलोको सोयाबिन २०० पुगेको छ । ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनी १०० पुगेको छ ।

महँगीले साँझ बिहानको चुलो बाल्नै समस्या भएको बताउनुहुन्छ कलंकी चोकमा कपडा बेच्ने धादिङकी निर्मला गुरुङ । हरेक साँझ चोकमा कपडा बेचेर दुई छाक खान र कोठा भाडासमेत तिर्न समस्या भएको उहाँले सुनाउनुभयो । चार वर्षदेखि सोही काम गर्दै आउनुभएकी सिर्जनाले अहिले अचाक्ली मूल्य बढेको गुनासो गर्नुभयो । ‘पहिले यिनै कपडा बेचेर खान, बस्न र छोराछोरीको शुल्क तिर्न पुग्थ्यो । थेरथोर बचत पनि हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘पहिलो त अहिले व्यापार घटेको छ । दोस्रो जति आम्दानी हुन्छ महँगी त्यसको चार÷पाँच गुणा बढेको छ । महँगीकै कारण खान, बस्न र कोठा भाडा तिर्न पनि मुस्किल भएको छ । सिर्जना न्यून आय भएका आम उपभोक्ताकी प्रतिनिधि पात्र हुनुहुन्छ । उहाँ जस्तै समस्या अहिले न्यून र मध्यम आय भएकाहरूले व्यहोरिरहेका छन् ।

उपभोक्तासँग दैनिक जोडिने खुद्रा व्यापारीहरू पनि बजारमा मूल्य बढेको स्वीकार गर्छन् । तर, मूल्य बढ्नुको कारण आफूहरू नभएको दाबी उनीहरूको छ । थोक व्यापारीहरूले प्रत्येकपटक खाद्यान्नको मूल्य बढाउँदा खुद्रा व्यापारीहरूले स्वाभाविक रूपमा मूल्य बढाउनुपर्ने स्थिति पैदा भएको उनीहरूको भनाइ छ । ‘थोक व्यापारीले प्रत्येक पटकमा मूल्यवृद्धि गरेर सामान पठाउँछन्, कलंकीमा खुद्रा किराना पसल सञ्चालन गरिरहेका सुरेश विष्टले भन्नुभयो, ‘हामीले घाटा खाएर बेच्ने कुरा भएन । उपभोक्ताले हामीलाई महँगी बढाएको देख्छन् । तर, महँगीको कारण खुद्रा व्यापारी नभई थोक व्यापारी हुन् । अथवा माथिबाटै मूल्य बढेर आउँछ ।’ यो गुनासो सुरेशको मात्रै होइन, अधिकांश खुद्रा व्यापारीको गुनासो उस्तै छ ।

तर, यहाँ दोषी थोक व्यापारी मात्रै होइनन्, दैनिक उपभोग्य वस्तु दाल, चामल, तेल, मसलालगायतको मूल्यमा एकरूपता हुनुपर्ने हो । तर, खुद्रा व्यापारीको पनि पसलैपिच्छे फरक–फरक भाउ हुन्छ । उपभोग्य वस्तुको मूल्यमा एकरूपता छैन । व्यापारीले मनपरी ढंगले मूल्य निर्धारण गर्छन् ।

राज्यका संयन्त्र परिचालन नहुँदा व्यापारीले मनपरी ढंगले मूल्य निर्धारण गरेर बिक्री गर्ने गरेको उपभोक्ता अधिकारीकर्मी बताउँछन् । खुला बजारमा राज्यका निकायको उपस्थिति नहुँदा मनपरी ढंगले महँगी बढेको उपभोक्ता अधिकारीकर्मी ओम लामिछाने बताउनुहुन्छ । बजार अनुगमन गर्ने जिम्मेवारी पाएका राज्यका निकायले प्रभावकारी अनुगमन गर्न नसक्दा अचाक्ली महँगी बढेको उहाँले बताउनुभयो । यो समस्या अहिलेको मात्रै नभई विगतदेखि नै देखिँदै आएको भन्दै अब उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ । ‘राज्यका निकाय बास्तवमै लाचार छन् । अनुगमन गर्न सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘गरिहाले पनि त्यो कर्मकाण्डी मात्रै हुन्छ । ठूला व्यापारीलाई उनीहरूले छुन पनि सक्दैनन् । उल्टै राज्य सञ्चालककै संरक्षण हुन्छ । फेरि पनि महँगी नियन्त्रण गर्नुपर्ने राज्यले नै हो ।’ तर, उपभोक्ता स्वयं पनि सचेत हुनुपर्छ । मूल्यसूची हेर्ने, बढी मूल्य लिएको पाइए विभिन्न निकायमा उजुरी गर्ने काम उपभोक्ताले गर्नुपर्छ ।’

सुपथ मूल्य पसल सञ्चालन

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकाका ६ स्थानसहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सञ्चालन गरिएका ती पसल आगामी कात्तिक २४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमा नै ती पसल सञ्चालन गरिएको जनाइएको छ । उपभोक्ताले नुन प्रतिकिलो १८ रुपैयाँ, चिनी प्रतिकिलो ७९ रुपैयाँमा र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले उपत्यकाभित्र कालीमाटीमा दुई स्थान, कोटेश्वर, सतुंगल, जावलाखेल, भक्तपुरका बिक्री कक्षसँगै दैनिक तीन मोबाइल भ्यानबाट घुम्ती सेवासहित देशभर करिब ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाइएको छ । पसल बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

यो वर्ष चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि तीन करोड छुट्याइएको छ । दशैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिनका लागि तीन करोड २५ लाख रुपैयाँ छुट्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, क्वाँटी, दाल, फापर र पीठोमा प्रतिकिलो पाँच, भटमासको तेलमा प्रतिलिटर १० तथा तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच छुट दिइएको छ । उपभोक्ताले कर्णालीको सिमी र फापरको दानामा प्रतिकिलो १० र जिउँदो खसी बोकामा प्रतिकिलो १० छुट पाउनेछन् । कम्पनीले दशैँलाई लक्षित गरी खसी बोका ल्याउने तयारीसमेत गरेको छ ।

दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन हेलिकोप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरी खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

सहुलियत पसलको शुभारम्भ गर्र्दै कम्पनीका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले उपभोग्य बजारलाई सन्तुलित गर्ने र मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले व्यवस्थित र पारदर्शी रूपमा पसल सञ्चालन गर्न कम्पनीका पदाधिकारीलाई निर्देशन दिनुभयो ।