‘ओकस’ सम्झौताको घोषणा।

वासिंगटन:= अमेरिका, बेलायत र अष्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विषयमा ‘ओकस’ सम्झौताको घोषणा गरेका छन् । अमेरिका, बेलायत र अष्ट्रेलियाले प्रतिरक्षा प्रविधि आदानप्रदान गर्नेसम्बन्धी एक विशेष सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो विशेष सुरक्षा सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्षहरू आदनप्रदानमा सहकार्य हुने जनाइएको छ । तीनवटै देशका नेताहरूले यस सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई थप सहयोग पुग्ने बताएका छन् ।

‘ओकस’ सम्झौताअन्तर्गत शाही अष्ट्रेलियाली सेनाको आणविक शक्तिसम्पन्न पनडुब्बी निर्माणका लागि हामी अष्ट्रेलियालाई सहयोग गर्नेछौं’ संयुक्त विज्ञप्तिमा उल्लेख छ । ‘यो सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा स्थायित्वलाई प्रवद्र्धन गर्नेछ भने हाम्रा साझा मूल्य र रूचिहरूलाई सहयोग र परिचालन गर्न मद्धत पुग्नेछ’ सम्झौता पत्रमा उल्लेख छ ।

तीनै नेताहरूले भच्र्युअल माध्यममार्फत सम्झौताको घोषणा गरेका थिए । यो सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा अमेरिका र बेलायतको बढ्दो उपस्थितिको महŒवलाई प्रष्ट्याउँछ । तर, ती तीन मुलुकले आफूहरूको सम्झौता कुनै पनि मुलुकविरुद्ध लक्षित नभएको दाबी गरेका छन् ।

तेस्रो मुलुकलाई लक्षित गरेर कसैले पनि साझेदारी गर्नुहुन्न : चीन

चीनले यस कदमको निन्दा गरेको छ । इण्डो-प्यासिफिक क्षेत्रमा चिनियाँ प्रभावलाई रोक्न अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको प्रतिरक्षा सम्झौतालाई लिएर बेइजिङ आक्रोशित भएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले ती तीन मुलुकले हिन्द प्रशान्त सागरको शान्ति तथा स्थायित्वलाई निकै खराब ढंगले ध्वस्त पारेको, हतियार दौडलाई बढावा दिएको र विश्वलाई निःशस्त्रीकरण गर्ने अभियानमा असर पारेको आरोप लगाउनुभएको छ । बिहीबार बेइजिङमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लिजानले भन्नुभयो, ‘तेस्रो मुलुकलाई लक्षित गरेर कसैले पनि साझेदारी गर्नुहुन्न । विकसित घटनाक्रमलाई चीनले नजिकबाट नियालिरहेको छ ।’