जब अभिनय गर्दागर्दै लक्ष्मीको आँशु खस्यो।

काठमाडौं:= गायक रमेशराज भट्टराईले वैदेशिक रोजगारीमा गएको युवाको कथामा एक गीत तयार पार्दै हुनुहुन्थ्यो । उक्त गीतको भिडियोमा कुन कलाकारलाई छनोट गर्ने भन्ने विषयमा दोधार भइरहँदा निर्देशक शंकर बिसीसँग सल्लाह लिनुभयो । रमेशले गीतको परिवेश बताउने बित्तिकै निर्देशक बिसीको दिमागमा लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई सम्झना गर्नुभयो र रमेशलाई सुनाउनुभयो ।

‘लक्ष्मी र जीवनलाई राखौं, हाम्रो गीतको परिवेशमा उहाँहरूलाई राख्दा न्याय हुन्छ भनेर शंकर जीले भनेपछि मलाई पनि उत्कृष्ट हुन्छ भन्ने लाग्योर छनोट गरिएको हो’, गायक रमेशराजले भन्नुभयो । कलाकार लक्ष्मीले पनि भिडियोका लागि अफर आएपछि सुन्नेबित्तिकै राम्रो लागेको र निर्माण टिमको अफर तरिका आफूलाई अझ मन परेको बताउनुभयो । ‘निर्देशक शंकर जीले जीवन जीलाई गीत पठाएर कस्तो लाग्छ हेरेर भन्नुस है भन्नुभयो । त्यो नै हामीलाई मनपर्छ । कतिले सिधैं तपाईंहरूको पारिश्रमिक कति हो भनेर सोध्नुहुन्छ । गीत कस्तो, टिम कस्तो थाहा हुँदैन सिधैं पारिश्रमिकको कुरा गर्दा चित्त नबुझ्ने हो’, लक्ष्मीले भन्नुभयो ‘कुनै कलाकारको पारिश्रमिक टिम र त्यो टिमको व्यवहारमा पनि भरपर्छ ।’ उहाँले शंकरले गरेको अफर र बोलीवचन मनपरेको र गीत मीठो भएकाले काम गर्ने निर्णयको जानकारी दिनुभयो ।

गायक रमेशराजले पनि लक्ष्मी र जीवनको अभिनय पहिलेदेखि हेर्दै आएको र भिडियो बनेपछि पनि कलाकारले न्यायपूर्ण तरिकाले काम गरिदिनुभएकोमा खुशी व्यक्त गर्नुभयो ।

रातमा निद्रा दिनमा भोक छैन, परदेशमा बस्ने रहर होइन । 

परदेशले उमेर लुट्यो सबै, सपना जति टुट्यो सबै ।।

एक दुई साल नगर कर, रित्तो हात कसरी फर्कौ म घर ।।

यी उल्लेखित शब्द दुई दिनअघि सार्वजनिक रमेशराजको नयाँ गीत ‘भन साइँला’मा समावेश शब्द हुन् । एक युवा आर्थिक स्थिति कमजोर भएकै कारण वैदेशिक रोजगारमा जान्छन् र घरमा रहेकी श्रीमती र ती युवाले गरेको कुराकानी गीतमा देखाइएको छ । गीतको अन्तिमतिर तिनै युवा दुर्घटनामा परी हात गुमाउन पुग्छन र घर फर्कन्छन् ।

यो कथा अधिकांश नेपालीहरूको वास्तविक कथा भएको गायक रमेशराजले बताउनुभयो । उहाँका अनुसार ठ्याक्कै कसैको कथालाई साभार नगरेको भए पनि अधिकांश नेपालीको परिवारसँग मिल्ने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘म पनि गाउँमा घाँसदाउरा गर्दै हुर्केको मान्छे हुँ । मैले गाउँमा प्रत्यक्ष देखेको छु कि परदेश जान पाए त राम्रो घर बनाउन सकिन्थ्यो होला, मनग्य पैसा कमाउन सकिन्छ होला भन्ने हुन्छ र धेरै युवाहरू परदेश जानुहुन्छ तर सबैले आफ्नो सपना पूरा गर्न सक्नुहुन्न । त्यो मध्येको एक यो कथा हो ।’

नेपालबाट वैदेशिक रोजगारीमा गएका ३० लाख बढी युवाहरूमध्ये विमानस्थलमा दैनिक तीनवटा शव नेपाल आउने कुराले कलाकार लक्ष्मी भावुक बन्नुभयो । उहाँले आफूले पनि आफूसँग नजिकका परिवारको घरमा वैदेशिक रोजगारीबाट दुःख पाएर फर्किएको देखेको र पीडा महसुस गरेको सुनाउनुभयो । गीतको शब्द अनुसार भिडियोमा अभिनय गर्दा आफ्नो आँखु खसेको लक्ष्मीले बताउनुभयो । ‘गीत यति मार्मिक थियो कि सुटिङको क्रममा जब स्टोरीमा डुबेको थिएँ मेरो आँशु खसेको थियो’, लक्ष्मीले भन्नुभयो, ‘घर छाडेर पैसा कमाउन श्रीमान् परदेश गएका छन् घरमा श्रीमती छन् । न त श्रीमान्को राम्रो कमाई भएको छ न त घरमा बुहारीले जस नै पाउँछिन् । त्यस्तो अवस्था देखेर कसको मन रुँदैन ।’

भिडियोमा देखाइएजस्तै लक्ष्मी र जीवन वास्तविक जीवनको श्रीमान्-श्रीमती हुनुहुन्छ । जीवनले आफूलाई कुनै समय वैदेशिक रोजगारीमा जाने सोच आएको सम्झनुहुन्छ । उहाँले भन्नुभएको छ, ‘म कलाकारितामा प्रवेश गर्नुपूर्व सोचाइआएको थियो कि विदेश गएर टन्न पैसा कमाउनुपर्छ कि भन्ने । तर पछि कलाकारितामा आइसकेपछि त्यो सोच्नुपरेको छैन ।’ यस्तै लक्ष्मीले केही समयअघि विदेश गएर पैसा कमाएर नेपाल फर्किएर केही गर्नुपर्छ कि भन्ने सोच कुनै समय पलाएको बताउनुभयो । अहिले दुवैजना कलाकारिताबाट सन्तुष्ट रहेकाले वैदेशिक रोजगारीमा जाने मनशाय नभएको बताउनुहुन्छ ।

रमेशराजको सार्वजनिक ‘भन साइँला’ गीतमा रमेशसँग रचना रिमालको स्वर छ । गीतमा लय तथा शब्द रमेशराजकै छ भने कन्सेप्ट रोहित गौतमको छ । शंकर बिसीले निर्देशन गर्नुभएको भिडियोमा जीवन र लक्ष्मीको साथमा सन्तोष पन्त, संगम भण्डारीलगायतको अभिनय छ । दुर्गा पौडेलले खिच्नुभएको भिडियो नवीन घर्तीमगरले सम्पादन गर्नुभएको हो ।