उज्वेकिस्तानमा अभ्यासमा व्यस्त नेपाली टोली।

काठमाडौं:= एएफसी वुमन एसियन कप, २०२२ छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानमा अभ्यासमा व्यस्त बनेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तानको तास्कन्द पुगेको हो । तास्कन्दमा पुगेलगत्तै नेपाली टोलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

सबैको रिपोर्ट नआइसकेकाले होटल प्रांगणमै नेपाली टोलीले हल्का अभ्यास गरेको थियो । टोलीका मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स रहनुभएको छ ।

नेपाल समूह ‘एफ’ मा छ । सो समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग आगामी असोज २ गते तथा असोज ५ गते हङकङसित खेल्नेछ । सो समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । नेपाली टोलीमा अञ्जना राना मगर, अञ्जिला सुब्बा, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी र दीपा राई हुनुहुन्छ ।

यस्तै टोलीमा गीता राना, हीरा भुजेल, इन्द्रा राई, मञ्जली योञ्जन, निशा थोकर, प्रीति राई, पूजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू र सिर्जना सिंह रहनुभएको छ ।

नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५-० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १-० र १९८९ मा ३-० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको थियो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गर्नुभएपछि नेपालले २-१ को जित निकालेको थियो । दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।