फिफा वरीयतामा नेपाल यथावत्।

काठमाडौं:= विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको हो । नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १६८ औं स्थानमै रहेको थियो ।

नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले पहिलो खेल भने १-१ गोलको बराबरीमा खेलेको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २-१ ले हराएको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०७औं स्थानमा रहेको छ । माल्दिभ्स १५८औं स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । बंगलादेश १८९औं, भुटान १८७औं, पाकिस्तान १९८औं र श्रीलंका २०५औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचांै स्थानमा इटाली रहेका छन् । इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको हो । अर्जेन्टिना छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दसौं स्थानमा रहेका छन् ।