काबुल:= अफगानिस्तानबाट यही सेप्टेम्बर १२ सम्ममा ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार गराएको जानकारी अनुसार यो संख्या देशभित्रमात्रै विस्थापित भएका अफगानीहरूको हो । देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण उनीहरू विस्थापित भएको जनाइएको छ ।
विस्थापित भएका मध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग प्रदान गरिएको अधिकारीहरूले जनाएका छन् । विस्थापित भएका मध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले सबैलाई आहृवान गरेको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरूपको रकम छिटो उपलब्ध गराउन राष्ट्रसंघले विदेशी समुदायलाई आग्रह गरेको हो ।
बरादर प्रभावशाली व्यक्तित्वमा
यता, तालिवान नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएका मुल्लाह बरादर टाइम म्यागेजिनको प्रभावशाली व्यक्तित्वमा पर्नुभएको छ । उहाँ अफगानिस्तानको कामचलाउ सरकारका उपप्रधानमन्त्री हुनुहुन्छ । दोहामा तालिवानको राजनीतिक कार्यालयका उपप्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुमधुर रहेको बताइन्छ ।
टाइम म्यागेजिनले वार्षिक रूपमा विश्वका एक सय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्दै आएको छ । मूल्लाह बरादरले अमेरिकासँगको सम्झौतामा समेत अहम भूमिका निर्वाह गर्नुभएको थियो । बरादर अत्यन्तै शान्त स्वभाबका कम बोल्ने व्यक्ति हुनुहुन्छ । तालिवानमा समेत उहाँ आधुनिक विचारधाराका व्यक्तित्वको रूपमा चिनिनुहुन्छ । सन् २०१० मा पाकिस्तानमा सुरक्षाकर्मीबाट गिरफ्तार गरिनुभएका बरादरलाई सन् २०१८ मा मुक्त गरिएको थियो । एजेन्सी




















