ग्लोबल आईएमई र निड्सबीच सम्झौता।

काठमाडौं:= ग्लोबल आईएमई बैंक र नेपाल विकास अध्ययन संस्थान (निड्स) बीच सम्झौता भएको छ । लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुलियतपूर्ण कर्जाका साथै वित्तीय साक्षरता एवं उद्यमशीलता तालिम उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौताअनुसार निड्सको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचबिखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई ग्लोबल आईएमई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र निड्सका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।