लिभरपुलको रोमाञ्चक जित।

लन्डन := इंग्लिस क्लब लिभरपुलले युईएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इटालियन प्रतिद्वन्द्वी एसी मिलानमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा पछि परेको अवस्थामा लिभरपुलले पुनरागमन गर्दै जित हात पारेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र जोर्डन हेन्डरसनले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानका एन्टी रेविच र ब्राहिम डियाजले गोल गर्नुभयो ।

खेलको नवौं मिनेटमा नै फिकायो तोमोरीले आत्मघाती गोल गर्नुभएपछि लिभरपुलले अग्रता बनाएको थियो । ४२औं मिनेटमा एन्टी रेविचले राफायल लियोको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । लगत्तै त्यसको दुई मिनेटमा नै ब्राहिम डियाजले गोल गर्दै मिलानलाई पहिलो हाफमा २-१ को अग्रता दिलाउनुभयो ।

मिलानको अग्रता धेरै बेर टिकेन । दोस्रो हाफको सुरुमै मोहम्मद सलाहले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउनुभयो । यस्तै ६९औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाउनुभयो ।

यही समूह ‘बी’ को अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पोर्चुगिज क्लब एफसी पोर्टाेसँग गोलरहित बराबरीमा रोकिएको छ । यो नतिजापछि समूह ‘बी’ मा लिभरपुलले तीन अंक जोडेको छ । एट्लेटिको म्याड्रिड र पोर्टाेको समान एक अंक रहँदा मिलान अंकविहीन हुँदै पुछारमा छ ।

यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा समेटिएको जर्मन प्रतिद्वन्द्वी आरबी लाइप्जिगमाथि ६-३ को सानदान जित निकाल्यो । सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका क्रिस्टोफर एनकुकुले हृयाट्रिक पूरा गर्नुभयो ।

खेलको १६औं मिनेटमा नाथन एकेको गोलबाट सिटीले अग्रता लिएको थियो । २८औं मिनेटमा नोर्दी मुकिलेले आत्मघाती गोल गरेपछि सिटीले खेलमा २–० को अग्रता लियो । ४२औं मिनेटमा नोर्दी मुकिलेको पासमा क्रिस्टोफर एनकुुकुले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याउनुभयो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रियाद महारेजले पेनाल्टीमार्फत् गोल गर्दै सिटीलाई पहिलो हाफमा ३-१ ले अघि बढाउनुभयो । ५१औं मिनेटमा ड्यानी ओल्मोको पासमा क्रिस्टोफरले व्यक्तिगत गोल गर्दै लाइप्जिगलाई खेलमा फर्कने संकेत गर्नुभयो । तर, ५६औं मिनेटमा ज्याक ग्रेलिसले रुवेन डियासको पासमा गोल गर्दै सिटीलाई अगाडि बढाउनुभयो ।

७३औं मिनेटमा क्रिस्टोफरले युसुफ पउलसेनको पासमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभएपछि लाइप्जिगका लागि त्यो पर्याप्त भएन । त्यसको दुई मिनेटपछि नै जोओ क्यान्सिलोले र ८५औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीलाई ६-३ को फराकिलो जित दिलाउनुभयो ।

यही समूह ‘ए’ को अर्काे खेलमा अग्रपंक्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियन क्लब ब्रुगसँग १-१ गोलको बराबरी खेलेको छ । यो नतिजापछि सिटी तीन अंक जोडेर शीर्षस्थानमा रहँदा पीएसजी र क्लब ब्रुगले समान एक अंक जोडेका छन् । लाइप्जिग अंकविहीन छ ।