एमालेको चुनावलक्षित तयारी सुरु।

प्रचण्ड र माधव नेपालको पछि लागेर केही हुँदैन, एमालेमै फर्किनुस् : ओली

काठमाडौं:= नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरूलाई आहृवान गर्नुभएको छ । बिहीबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा (एमाले)मै रहनका लागि आहृवान गर्नुभएको हो । ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपालले अलमल्याएका, झुक्याएका, भ्रममा पारेका साथीहरू फर्किनुसु पार्टीमा । कार्यकर्ताहरू फर्किनुस् । झुक्किएका साथीहरू फर्किनुस् ।

काठमाडौं एमालेले बिहीबार गरेको कार्यक्रममा ओलीले भन्नुभयो, ‘माधव नेपाल, घरमा आगो लगाएर, खरानी घसेर तन्नम् भएर, तीर्थयात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । तर, उहाँको व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत स्वार्थ, व्यक्तिगत इगो, व्यक्तिगत अहंकार, ईष्र्याभाव, कुण्ठा र त्यसबाट ग्रसित भएर अनेकका जिन्दगीसँग माधव नेपालले जुन खेल खेल्नुभयो, बहुतै डरलाग्दो छ ।’

अध्यक्ष ओलीले माधव नेपालका कारण आफ्नो भविष्य अप्ठ्यारोमा नपार्न नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ‘उहाँ पार्टी प्रमुख भएर धेरै वर्ष चलाउनुभयो । प्रधानमन्त्री भइसक्नुभयो । अब त जाने ठाउँ के छ र ? माथि कि कहाँ जाने ?’, ओलीले प्रश्न गर्दै भन्नुभयो, ‘अरूको भविष्यसँग खेलबाड गर्ने ? देशको भविष्यसँग खेलबाड गर्ने ? म कार्यकर्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु, भ्रममा नपर्नुस् ।’

अध्यक्ष ओलीले मौरीको संगत गरेर मात्रै फूलबारी पुगिने भन्दै एमालेमा लाग्न आग्रह गर्नुभयो । ‘मौरीको संगत लागेर गयो भने फूलबारी पुगिन्छ । झिंगाको पछि लागेर फूलबारी पुगिँदैन । फोहोरको डंगुरमा पुगिन्छ । त्यसकारण मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो,’ उहाँले भन्नुभयो ।

केही नेताहरूले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताउनुभयो । उहाँले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरूतर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हुन त केही साथीहरू अहिले पनि भन्नुहुन्छ, माधव कामरेड आउनुस् । तपाईंको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको त्यो म बुझ्दिनँ । केलाई आवश्यकता ? उहाँ छउन्जेल पार्टी गुटबन्दीबाहेक केही भएन, माधव नेपालले यो साढे तीन वर्षमा पार्टीको पक्षमा, सरकारको पक्षमा एकशब्द बोलेको कमरेडहरूले सुन्नुभयो कहिल्यै ? सरकारको आलोचना, सरकारको विरोध, प्रतिक्रियावादी भन्दा चर्को, विपक्षीहरूले के भन्थे यतै सत्ता पक्षकै नेताहरूले यति बोलिसकेपछि हामीले केही बोल्नु परेन । हाम्रो कुरा उहाँले भन्दिसक्नुभयो । लामो समय सँगै काम गरेपछि अलिक माया, ममता हुन्छ क्या । त्यसकारण अलिअलि लोभ लाग्छ साथीभाइको । त्यो लोभ छोड्दिनुपर्छ अब । काम छैन त्यसको लोभको ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तै गरी बिलाएर जाने टिप्पणी गर्नुभयो । उहाँले माओवादी केन्द्र र एमाले एकीकरणपछिको मूल पार्टी आफूहरूकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताउनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य-मान्यताको पनि पालना नगरेको बताउनुभयो । वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उहाँले आलोचना गर्नुभयो । आफूहरूले बजेट ल्याउन नरोकेको भन्दै उहाँले संसद्मा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने ? भन्ने प्रश्नसमेत गर्नुभयो ।

उहाँले एमालेले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरिरहेको भन्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनीसमेत दिनुभयो । आगामी दिनमा एमाले बाजागाजासहित सिंहदरबारको मूल ढोकाबाट सरकारको नेतृत्व गर्न पुग्ने उहाँले दाबी गर्नुभयो ।

१० बुँदे सहमति कार्यान्वयनमा दृढ छौँ : पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धन आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाउनुभएको छ । कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले एमाले आर्थिक समृद्धिको बाहक भएको र सत्ता गठबन्धनले समृद्धिको अभियानलाई अवरुद्ध पार्न खोजेको आरोप लगाउनुभयो । नेपालको राष्ट्रिय राजनीतिक अहिले दुई धु्रवमा विभाजित भएको, एकातिर देश बनाउने सपना बोकेको एमाले रहेको र अर्कोतिर अवसरवादी र अनैतिक गठबन्धन रहेको पोखरेलले बताउनुभयो । पोखरेलले अहिले नै समाजवाद आयो भनेर बुझिहाल्न नपर्ने बताउनुभयो । पोखरेलले एमालेले चुनाव नजिते परिवर्तन उल्टिने पनि बताउनुभयो ।

पोखरेलले पार्टी संगठनमा अध्ययन र प्रशिक्षणको कमी औँल्याउनुभयो । ‘दस्तावेज, निर्देशन, वक्तव्यहरू पढेको छैन । सामाजिक सञ्जालमा अल्झिएका छाँै । त्यही आधारमा धारणा बनाउने काम गरेका छौँ । अब अध्ययन र प्रशिक्षणमा ध्यान दिनुपर्छ । स्वअध्ययनमा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो । पोखरेलले पार्टीमा गुटबन्दी र अराजकता मौलाएको भन्दै यो पार्टीलाई समाप्त पार्ने महारोग भएको बताउनुभयो । पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताउनुभयो । उहाँले सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रष्ट पार्नुभएको हो । पोखरेलले जेठ २ लाई दुई हिसाबले बुझ्न आग्रह गर्नुभयो ।

एमाले श्रमजीवीको पार्टी हो : बादल

नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताउनुभएको छ । नेकपा एमालेले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले एमाले जनता र श्रमजीवीको पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताउनुभयो । ‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथि हो । श्रमजीवीको पार्टी हो,’ बागमती प्रदेशको इञ्चार्जसमेत रहनुभएका थापाले भन्नुभयो । बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गर्नुभयो । उहाँले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अथ्र्याउनुभयो । दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उहाँले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताउनुभयो । बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबीसमेत गर्नुभयो । थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गर्नुभयो ।

माधव नेपालको बाटो सही छैन, पार्टीमा फर्किनुपर्छ : शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताउनुभएको छ । काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधनका क्रममा नेता नेपालले नयाँ पार्टी खोलेर जनमत सिर्जना गर्न नसक्ने पनि उहाँले बताउनुभयो । ‘म भन्छु– माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको राजनीतिक होइन, जुटको एकजुटको सुदृढ राजनीति आवश्यकता छ’, बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहनुभएकी शाक्यले भन्नुभयो, ‘माधव नेपाल हामी सबैको नेता हो । आज आफूले जीवन दिएको पार्टी चटक्क त्यागेर नयाँ जनमत सिर्जना गर्छु भन्नु सही हुन सक्दैन ।’

शाक्यले एमालेसँग फुट र जुट दुवैको इतिहास रहेको पनि बताउनुभयो । उहाँले अदालतले एमाले फर्काइदिएपछि आफूहरू लामो समय पार्टीबाहिर बसेर फर्किएको पनि बताउनुभयो । शाक्यले सबै कुरा छाडेर अब कम्युनिष्ट पार्टी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । शाक्यले कम्युनिष्ट आन्दोलन अघि बढेको हेर्न नचाहनेले अनेकौँ खेल गरेको पनि बताउनुभयो । उहाँले नवौँ महाधिवेशनबाट ‘समृद्ध नेपाल सुखी नेपाली’ भने पनि प्यानल बनाएर लड्नु गल्ती भएको बताउनुभयो । शाक्यले अब एमालेजन रूपान्तरित नभए सक्किने चेतावनी दिनुभयो ।