लोकप्रिय हास्य टेलिशृंखला ‘सक्किगोनी’ अब फरक युट्युबबाट प्रसारण।

काठमाडौं:= नेपाली टेलिशृंखलाको क्षेत्रमा पछिल्लो समयको सर्वाधिक लोकप्रिय टेलिशृंखला ‘सक्किगोनी’ अब फरक युट्युब च्यानलमा अपलोड हुनेभएको छ । हिमालय टेलिभिजनमा प्रसारण भइसकेपछि ओ.एस.आर डिजिटल युट्युबमा अपलोड भइरहेको ‘सक्किगोनी’ अब सिजन २ को भाग ३४ बाट जे.पी.टी क्रिएसन अफिसयल युट्युबबाट आउने पक्का भएको हो ।

ओ.एस.आर.डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युबबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगोनी’का कलाकार तथा निर्देशक कुमार कट्टेल (जिग्री)ले जानकारी दिनुभएको छ । कुमारले भन्नुभएको छ, ‘दर्शकहरूको मायाकै कारण आज हामी यहाँसम्म छौं । ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं ।’ हिमालय टेलिभिजनबाट प्रत्येक बिहीबार राति ८ बजे प्रसारण हुँदै आएको ‘सक्किगोनी’ युट्युबमा ९ बजेबाट हेर्न सकिनेछ ।

ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालले ‘सक्किगोनी’को टिमसँग सम्झौता सकिएको र अर्को सम्झौता नगर्ने भनिएपछि सहमतिमै निर्माण टिमले आफ्नै युट्युबमा राख्ने निर्णय गरेको बताउनुभयो । अग्रवालले भन्नुभएको छ, ‘उहाँहरूले पछिल्लो समय डिमाण्ड बढी गरिरहनु भएको थियो । युट्युबबाट हुने आम्दानीभन्दा बढी दिनसक्ने अवस्था पनि भएन ।’ बुझिए अनुसार ओ.एस.आर डिजिटलसँगै वार्षिक झण्डै एक करोडको आसपासमा सम्झौता गरिएको थियो ।

यस्तै ‘सक्किगोनी’लाई जिग्री र पाँडेको टिमले ओटिटी प्लेटफर्ममा पनि राख्ने तयारी गरिरहेको छ । तर यस विषयमा अहिले नै टुंगो नलागेकाले जिग्री पाँडेले यो विषयमा भने बोलेका छैनन् । यदि ओटिटी प्लेटफर्ममार्फत आउने भयो भने युट्युबबाट हेर्न पाइनेछैन । ओटिटी प्लेटर्फममा दर्शकले सीमित रकम तिरेर हेर्नुपर्नेछ । सक्किगोनीमा अर्जुन घिमिरे, कुमार कट्टेल, सागर लम्साल, हरिश निरौला, दीपक आचार्य, सुवोध गौतम, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायत कलाकारहरूको अभिनय छ । सक्किगोनीको एकसाताको भाग युट्युबमा कम्तीमा २० देखि ३० लाखले हेर्ने गरेका छन् ।