पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा।

काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभएको छ । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै उहाँले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहे पनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, साधन र शिक्षा विकास व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएका विद्यालयहरूको भौतिक पूर्वाधार निर्माणको काम सकिने अवस्थामा पुगेको उल्लेख गर्दै अबको सम्पूर्ण ध्यान त्यहाँको गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

‘भौतिक पूर्वाधारको काम सकिएपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने नै छ,’ उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो– ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्ति आजको आवश्यक्ता हो । यस अभियानमा सबै पक्षलाई केन्द्रित हुन अनुरोध गर्न चाहन्छु । सामूदायिक विद्यालयको शिक्षामा गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरू संचालन गरिरहेको र भविष्यमा थप कार्यक्रमहरू गर्ने नै छ । विद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारीमा रहे तापनि संघीय सरकारले स्रोत, साधन र अन्य कार्यक्रमहरूसहित विद्यालय शिक्षाको विकास व्यवस्थापनमा सहयोग गरिरहेको छ ।’

उहाँले भन्नुभयो, ‘भूकम्पबाट क्षतिग्रस्त सात हजार ५५३ विद्यालयमध्ये ६ हजार ६४४ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । अब गुणस्तरीय शिक्षामा सबैको ध्यान जाने विश्वास लिएको छु ।’ प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारले विभिन्न कार्यक्रम संचालन गरिरहेको र भविष्यमा थप कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले विपत्तिले अवसर पनि ल्याउने उल्लेख गर्दै जीर्ण भएका ललितपुरका दर्जनौं विद्यालय भवनको पुनर्निर्माण भएकोमा खुसी व्यक्त गर्नुभयो । मन्त्री भुसालले शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिन सुझाव पनि दिनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा भूकम्प प्रभावित जिल्लामा भूकम्प प्रतिरोधी तथा सुविधा सम्पन्न विद्यालय निर्माण भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा भूकम्प प्रतिरोधी प्रविधि जनतासम्म पुगेको बताउनुभयो ।