विकासविरोधी तत्वले मलाई काम गर्न दिएनन्, आफूले पनि गरेनन्: केपी ओली।

बुटवल:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासविरोधी तत्वहरूले आफू नेतृत्वको सरकारलाई विस्थापित गरेको आरोप लगाउनुभएको छ । नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीको नामबाटै प्रधानमन्त्री बन्ने मौका पाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनालले विकासको बाटो समातेको सरकारलाई काम गर्न नदिएको बताउनुभयो । उहाँले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताउनुभयो । नेपाली कांग्रेस एमाले फुटाएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा पुगेको आरोपसमेत लगाउनुभयो ।

‘हाम्रो पार्टीबाट बिग्रिएर कोही गए सरकार बनाइदिएर प्रधानमन्त्री खाइदेऊ भन्ने अवस्थामा पुग्यो कांग्रेस’, ओलीले भन्नुभयो । उहाँले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै परमादेशबाट प्रधानमन्त्री हुनु लोकतन्त्र नभएको टिप्पणी गर्नुभयोे । ‘अदालतको परमादेशबाट प्रधानमन्त्री हुने लोकतन्त्र हो ? प्रधानन्यायाधीशले प्रधानमन्त्री तोक्ने कुरा लोकतन्त्र हो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘अहिलेको सरकार आउने चुनावसम्म पनि टिक्न मुस्किल छ, अरू कुरा त के गरौँ । तर, एमालेले चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामना गरेको छ’, ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीबाहेक अरू कसैले पनि देशको हितमा काम गर्न नसक्ने बताउनुभयो । ‘भैरहवा विमानस्थल, बुद्धस्थल तिलौराकोटको उत्खनन, शिद्धबाबाको सुरुङमार्ग, लुम्बिनीको ध्यान केन्द्र सबै एमाले सरकारले बनाएकाले देश विकासका लागि एमालेको विकल्प कोही छैन’, ओलीले भन्नुभयो ।

उहाँले देशको सार्वभौमसत्ता जोगाउनका लागि कम्युनिष्ट पार्टी चाहिने बताउनुभयो । उहाँले एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई ध्वस्त पार्न खोजेको आरोप लगाउनुभयो । आफूले अनेक अप्ठ्यारा सहेर पार्टी जोगाएको ओलीको भनाइ थियो । ‘यो पार्टी ध्वस्त पार्न खोजिएको थियो । प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको थियो’, उहाँले भन्नुभयो । ओलीले मन्त्रिपरिषद् दुई महिनासम्म पनि विस्तार नहुँदा अहिलेको सरकार ओइलाएको टिप्पणी गर्नुभयो । अहिले सरकार ओइलाएको साग जस्तो भएको उहाँले भन्नुभयो, ‘दुई महिनासम्म मन्त्रिमण्डल विस्तार गर्न नसक्ने सरकारले अरू के गर्न सक्ला ?’ ओलीले तत्कालीन नेकपा नफुटेको बरु पुष्पकमल दाहाल प्रचण्ड पार्टीबाट निस्केको दाबी गर्नुभयो ।

माधवकुमार नेपालले स्वार्थकेन्द्रित भएर पार्टी फुटाए : पौडेल

नेकपा एमालेका नेता विष्णु पौडेलले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल सिद्धान्त केन्द्रित नभई स्वार्थ केन्द्रित भएर पार्टीमा विभाजन ल्याएको आरोप लगाउनुभएको छ । बुटवलमा आयोजित कार्यकर्ता भेलामा उहाँले नेता नेपाल नेपाली कांग्रेसको शरणमा परेको बताउनुभयो ।

नेता पौडेलले माधव नेपालको पार्टीमा जानुभन्दा कांग्रेसलाई सोझै सहयोग गर्न जाँदा उत्तम हुने टिप्पणी गर्नुभयो । ‘केही मानिसहरू भ्रममा होलान्, माधव नेपालमार्फत कांग्रेसको सेवा गर्न जरुरी छैन । बरु त्यसका लागि सोझै नेपाली कांग्रेसलाई सहयोग गर्ने बाटा छन् । त्यतै लागे हुन्छ ।’

माधव नेपालको झुण्डले जुन गतिविधि गरेको छ त्यो सह्य छैन’, उहाँले भन्नुभयो । उहाँले वामपन्थी शक्ति निर्माण गर्ने भनेर नेता नेपालले दोधारे चरित्र देखाएको आरोप लगाउनुभयो । कांग्रेसको पछि लागेर वामपन्थी शक्ति निर्माण गर्ने भन्ने ? कांग्रेसको पछि लागेर वामपन्थी शक्ति निर्माण हुन्छ,’ पौडेलले भन्नुभयोे ।

नेकपा एमालेका अध्यक्ष ओलीलाई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपामा हुँदा अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी कब्जा गरेर हटाउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गरिएको थियो । यसरी एमाले कब्जा गर्ने खोज्ने, एमालेलाई कमजोर पार्ने प्रयास भएको हो । प्रचण्डको नेतृत्व कमजोर भए पनि पार्टी एकता जोगाउने कोसिस गरेका थियौ, तर, हामी यसमा सफल हुन सकेनाँै ।’

एमाले अहिले अप्ठ्यारोमा छ : भुसाल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले पार्टी अप्ठेरोमा रहेको टिप्पणी गर्नुभएको छ । बुटवलमा आयोजित कार्यक्रममा बोल्दै भुसालले नेकपा एमाले फुटका कारण अप्ठेरोमा रहेको बताउनुभयो । पार्टीका लागि बलिदान गर्ने मदन भण्डारीजस्ता नेताको योगदानका कारण ठुलो चोटपछि पनि एमाले अझै राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको दाबी गर्नुभयो । ‘हामी धेरै अप्ठ्यारोमा छौँ । कहाँ थियौँ कहाँ खसेका छौँ । नेकपा एमालेको सबभन्दा ठूलो र प्रभाकारी भूमिका खेल्नुपर्ने ठाउँमा छौँ । आज पनि हामी राष्ट्रिय शक्ति हौँ । हामी मात्तिने र आत्तिने होइन’, उहाँले भन्नुभयो । एमालेलाई उत्ताउलो हुने छुट नभएको भुसालको भनाइ थियो । ‘नेकपा एमालेले कमजोरी गर्ने उत्ताउलो हुने कुनै छुट छैन, मुलुकको आन्दोलनमा समानताको आन्दोलनमा जति जोड गर्न सकियो त्यति बलियो हुने हो’, उहाँले भन्नुभयो । न्याय र समानताका पक्षमा उभिए मात्रै एमालेअघि बढ्न सक्ने भुसालले बताउनुभयो । उहाँले समानताको दायित्व भुल्न नहुने तर्क गर्नुभयो ।

‘अरू कुनै कुराले हुने होइन । यदि हामीले यो दायित्व बिर्सियौँ भने इतिहासले हामीलाई प्रश्न गर्छ’, भुसालको भनाइ छ । एमाले आन्तरिक समस्याको समाधानका लागि पर्याप्त लोकतान्त्रिक अभ्यासको खाँचो भएको भुसालले बताउनुभयो । आफूले आन्तरिक लोकतान्त्रिक कुरा गर्दा व्यक्तिवादी भएको आरोप लाग्ने गरेको बताउँदै भुसालले भन्नुभयोे, ‘यस्तो पार्टी स्वयं हर आन्तरिक प्रयाप्त लोकतान्त्रिक हुन सकेन भने बाहिर पनि लोकतन्त्रिक हुन सक्दैन । हामी व्यक्तिका लागि मात्रै कुरा गरेको जस्तो हुन्छ । त्यस्तो होइन । जति बढी एमालेले न्याय समानताको पक्षमा न्यय गर्न सक्छ त्यति राम्रो हुन्छ । जाने बाटो यो हो ।’

लोकतन्त्रिक समाजवादमा जान दलाल पुँजीवादले असर गरिरहेको भुसालको टिप्पणी छ । दलाल पँुजीवाद पार्टीभित्र पनि हावी भएको उहाँले बताउनुभयो । अब दलाल पुँजीवादविरुद्ध पार्टीभित्र र पार्टी बाहिर लड्नुपर्ने बताउनुभयो । ‘नेकपा एमालेको अभाव अरू कसैले पूरा गर्न सक्दैन । लोकतान्त्रिक एमाले, न्याय समानतामा योगदान गर्ने एमालेमा बाँचेको पिढीले गर्ने हो,’ उहाँले भन्नुभयो । माधव नेपाललाई आफूले दलाल पुँजीवादका बारेमा बुझाउन नसकेको भुसालको भनाइ छ । ‘कमरेड माधव नेपालले यो कुरा बुझ्नुपथ्र्यो । तर, बुझाउन सकिएन । यो बीचमा के के भयो के के भयो । हामी यो बीचमा भड्किएका हौँ’, उहाँले भन्नुभयो ।

रायमाझीको प्रश्न : कांग्रेसको नेतृत्वमा देश समृद्ध बन्छ ?

नेकपा एमालेका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेपाली कांग्रेसको नेतृत्वमा देश समृद्ध बन्छ ? भन्दै प्रश्न गर्नुभएको छ । उहाँले एमालेविरुद्धको घेराबन्दी र कुचेष्टालाई असफल बनाउने दाबी गर्नुभयो । नेता रायमाझीले एमालेविरुद्ध एक्लै लड्ने हिम्मत नभएको बताउनुभयो । माओवादी केन्द्र कांग्रेसको पुच्छर बनेको भन्दै उहाँले कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने जिकिर गर्नुभयो । उहाँले आक्रोशित र निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो ।