अहिलेको गठबन्धन चुनावसम्म टिके दुईतिहाइ बहुमत आउँछ: प्रचण्ड।

काठमाडौं:= सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल कायम लोकतान्त्रिक–वाम गठबन्धन अर्को चुनावसम्म टिकेमा दुईतिहाइ बहुमत आउने बताउनुभएको छ ।

माओवादी नेता पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा बुधबार पेरिसडाँडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सच्चिएर अघि बढेमा फेरि ठूलो पार्टी हुने पनि जिकिर गर्नुभयो ।

‘हामी १५ वर्षसम्म पटक–पटक सत्तामा गएकै हौँ । तर, देशको नेतृत्व राम्ररी गर्न नपाएर समय गयो,’ उहाँले भन्नुभयो, ‘यसबीचमा सयभन्दा धेरै मन्त्री भएछन् । हामीले अब आफूलाई सुधार्नुपर्छ । देशभका गाउँसम्म पार्टी संगठन बनाएर अघि बढ्नुपर्छ । अब अरूलाई गाली गरेर हुँदैन, आफैँलाई गाली गरेर जाऊँ । हामी सच्चिन सकेमा फेरि पनि देशको पहिलो शक्ति बन्न समस्या छैन ।’

उहाँले कांग्रेससहितको गठबन्धनलाई आगामी चुनावसम्म टिकाएर जान सक्नुपर्नेमा पनि जोड दिनुभएको छ । उहाँले देशको विकासकै लागि गठबन्धन बनाएको दाबी गर्नुभयो ।

‘गठबन्धनलाई बचाएर त्यसकै बलबाट हामी दुईतिहाइको सरकार बनाउन सक्छौँ । त्यसकै लागि यो मोर्चाबन्दी भएको छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनलाई जनताले पनि बुझेका छन् । हामी आफैं विचलित नभई अघि बढेमा, आफैंलाई बदलेर हिँडेमा फेरि नम्बर एक बन्छौँ ।’