सबै भन्दा महङ्गो गायिका बिष्णु माझीको माइतीघर पुग्यो प्रहरी।

काठमाडौं:= नेपाली गीतसंगीत क्षेत्रकी सबैभन्दा महँगी र लोकप्रिय लोकगायिका विष्णु माझीको पछिल्लो समय अवस्थाबारे चर्चा चलेपछि उहाँको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरी स्याङ्जा पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेपछि प्रहरीले विष्णु माझीको अवस्थाबारे जानकारी लिने प्रयास गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको एक टोली विष्णुको माइती घर पुगेर जानकारी लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट आग्रह आएपछि प्रहरीको टोली विष्णुको माइती घर पुगको हो । तर, उहाँको माइतीमा बुवा–आमा र दाजुभाइ कोही पनि नभएकाले खासै धेरै जानकारी पाउन नसकिएको बोगटीले बताउनु भएको छ । विष्णुका शुभचिन्तक तथा श्रोता/दर्शकले उहाँको अवस्थाबारे चासो देखाएपछि राष्ट्रिय मानवअधिकार आयोगले उहाँको अवस्था बुझ्न जिल्ला प्रशासन स्याङ्जालाई पत्राचार गरेको थियो ।

केही वर्षअगाडि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित भएर विष्णुले आफूलाई पारिवारिक दबाब नरहेको बताउनु भएको थियो । आफू राजीखुशी मिडियामा नआएको बताउनु भएको थियो । विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीले उहाँलाई दबाबमा बाहिर आउन नदिएको टीका-टिप्पणी हुँदै आएको छ । तर, उनले यो आरोपलाई नकार्दै आउनु भएको छ।

केही समयअगाडि विष्णुको स्वरमा तीज गीत ‘चरी जेलैमा’ बजारमा आएको थियो । उक्त गीत विष्णुकै जीवनमा मेल खाने रहेको श्रोता तथा दर्शकले अनुमान लगाएका थिए । यद्यपि, सो गीत सुन्दरमणिले नै लेख्नुभएको हो । भिडियो निर्देशन पनि सुन्दरमणि कै हो । तर दर्शक तथा श्रोताले भने विष्णुले आफ्नै जीवनसँग मेल खाने गीत गाइन् भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका थिए ।

नेपाली गीतसंगीतको इतिहासमै धेरै पारिश्रमिक लिने गायिकामा विष्णु पर्नुहुन्छ । उहाँले एक गीत गाएको दुई लाख रुपैयाँ पारिश्रमिक लिने गर्नुभएको छ । उहाँले महिनामा कम्तीमा दशदेखि १५ वटा गीत गाउने गर्नुभएको छ । उहाँले गाएका अधिकांश गीत चर्चाको शिखरमा पुग्ने गरेका छन् ।