क्रिकेटर सन्दीपको विश्व कीर्तिमान।

काठमाडौं:= नेपाली क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीसँग ६ विकेट लिएसँगै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा विश्व कीर्तिमानको बराबरी गर्नुभएको छ।

सन्दीपले पाकिस्तानका चर्चित तीव्रगतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अस्ट्रेलियाका स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामीजस्ता बलरको कीर्तिमान बराबरी गर्नुभएको हो।

उहाँले लगातार तीन इनिङमा चार वा सोभन्दा बढी विकेट लिने विश्व कीर्तिमानको बराबरी गर्नुभएको हो । पपुवा न्युगिनीसँग शुक्रबार सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिनुभएको थियो । जुन उहाँको करिअरकै उत्कृष्ट प्रदर्शनसमेत हो।

सन्दीपसँगै ओडीआईमा लगातार तीन इनिङमा चारभन्दा बढी विकेट लिने पाकिस्तानका तीव्रगतिका बलर वाकर युनिस, अब्दुल रजाक, शाहिद अफ्रिदी, शाहिन शाह अफ्रिदी, भारतका स्पिनर नरेन्द्र हिरवानी, मोहम्मद शामी, अस्ट्रेलियाका स्पिनर शेन वार्न, वेस्ट इन्डिजका तीव्रगतिका बलर वासबर्ट ड्रेक्स, क्यानडाका खुरम चौहान र न्युजिल्यान्डका म्याट हेनरी हुनुहुन्छ।

सन्दीप नेपालबाट ओडीआईमा दुईपटक पाँचमाथि विकेट लिने एक्लो बलरसमेत हुनुहुन्छ । यसअघि सोमपाल कामीले नेपालबाट ओडीआईमा पाँच विकेट लिनुभएको थियो । नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट लिने सोमपाल र सन्दीपमात्रै हुनुहुन्छ । नेपालले हालसम्म १२ ओडीआई खेल खेलेको छ । जसमा सात खेलमा जित र पाँच खेलमा हार छ।

सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दोस्रो ओडीआईमा पपुवा न्युगिनीमाथि १५१ रनको कीर्तिमानी जित हासिल गरेको थियो। नेपाली क्रिकेटको ओडीआईमा यो नै सर्वाधिक ठूलो जित हो । जितका लागि २३४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९.१ ओभरमा ८२ रनमा अलआउट भएको थियो । यसअघि नेपालको ओडीआईमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध २०१९ मा १४५ रनको रहेको थियो।

नेपालले अब त्रिदेशीय शृंखलामा खेल्नेछ । त्रिदेशीय शृंखलाअन्तर्गतको पहिलो खेल २८ भदौमा नेपालविरुद्ध अमेरिका, २९ भदौमा ओमानविरुद्ध नेपाल, १ असोजमा नेपालविरुद्ध अमेरिका र ३ असोजमा ओमानविरुद्ध नेपाल हुनेछ।