‘जातको प्रश्न’ कार्यक्रमको दोस्रो सिजन सुरु गरिने।

काठमाडौं:= समता फाउण्डेशनले निर्माण गरेको ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रमको दोस्रो सिजन सुरु गरिने भएको छ । आउँदो ८ अक्टोबर २०२१ देखि सुरु हुने बताइएको छ । फाउन्डेसनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जातजातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’को दोस्रो सिजन सुरु गरेको हो ।

कार्यक्रमलाई अभिनेताद्वय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, संगीतकर्मी प्रकाश सपुत र सञ्चारकर्मी निश्मा ढुंगााना चौधरीले सञ्चालन गर्ने बताइएको छ । ‘जातको प्रश्न’को दोस्रो सिजन १२ अंकको हुनेछ । निर्देशक शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने ‘जातको प्रश्न’मा अनुभवी पत्रकार विवेक रेग्मी, लेखक भानु बोखिम तथा समता फाउण्डेशनका अनुसन्धानकर्ताले कार्यक्रमका लागि अनुसन्धान र लेखन गर्नुभएको छ ।

यस पटक जातको प्रश्नमा नेपाली दलितले बाँचेको जीवनका यथार्थ, ज्ञान र अनुभवका कथाहरू बुनिएका छन् । फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारले भन्नुभएको छ, ती कथा समग्र नेपाली दलित समुदायको प्रतिनिधि हुन्, दलित प्रतिरोधका गाथा हुन् । यो प्रतिरोधमा गैरदलित सहानुभूतिको अन्तरघुलनले जात व्यवस्थालाई चुनौती दिँदै स्वयंले पाएको सुविधा÷विशेषाधिकारबारे स्वयंलाई प्रश्न गर्न र संरचनागत विभेद अन्त्यका लागि सिर्जनात्मक हस्तक्षेप सशक्त बनाउनेछ ।’