चैतमा रिलिज होला ए मेरो हजुर-४ ?

काठमाडौं:= नेपाली चलचित्र हलमा प्रदर्शन नभएको झण्डै दुई वर्ष पुग्न थाले । चलचित्रको छायांकन पछिल्लो समय फाटफुट सुरु हुन थालेका छन् । प्रदर्शन मिति कतिपय चलचित्रले तोकेका छन् भने कतिपयले सही समय फर्किरहेका छन् । कोरोना कहरले थलिएको चलचित्र क्षेत्र कहिले पुरानै लयमा आउला यसै भन्न सकिने अवस्था भने छैन ।

यसैबीच प्रतिक्षित चलचित्रको रुपमा लिइएको झरना थापाद्वारा निर्देशित ‘ए मेरो हजुर ४’को निर्माण टिमले प्रदर्शन मिति तोकेको छ । यसैवर्षको चैत २५ गते हलमै चलचित्र रिलिज गरिने जनाइएको छ । निर्माता सुनिलकुमार थापा र झरना थापाले फेसबुकमार्फत चलचित्रको प्रदर्शन मितिबारे जानकारी दिनुभएको हो । यसअघि भदौ १८ गते चलचित्र प्रदर्शन गर्ने भनिएको थियो । तर कोरोना भाइरस संक्रमणका कारण रिलिज मिति पछि सारिएको हो ।

कोरोना भाइरसको महामारी नेपालमा पूर्णरूपमा रोकिएको छैन । त्यसैले आउँदो चैतसम्म दर्शकहरू हलसम्म पुग्छन् भन्ने आँकलनमात्र गर्न सकिन्छ । प्रशासनले भने उपत्यकाका ५० प्रतिशत अकुपेन्सीमा हल खुल्न दिने निर्णय गरेको छ ।

‘ए मेरो हजुर ४’को कथा झरना थापा र छेतेन गुरुङले लेख्नुभएको हो । सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रमा अनमोल केसी र सुहाना थापासँगै सलोन बस्नेतको पनि मुख्य भूमिकामा रहनु भएको छ । ‘ए मेरो हजुर’का यसअघिका सबै सिक्वेललाई दर्शकले मन पराएका थिए ।