गायक तथा गितारिष्ट राजु चौधरीको निधन।

काठमाडौं:= रेडियम ब्यान्डका गायक तथा गितारिष्ट राजु चौधरीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरपीडित चौधरीको उपचारका क्रममा भारतमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपालमा उपचार सम्भव नभएपछि केही दिनअघि उहाँलाई दिल्लीस्थित बिएलके-म्याक्स अस्पतालमा लगिएको थियो । बिहीबारै चौधरीको मृत्यु भएको रेडियम ब्यान्डका गायक विशाल अग्रवालले फेसबुकमार्फत जानकारी दिनुभएको छ । रेडियम ब्यान्ड बिर्तामोडबाट सञ्चालित थियो ।

राति रक्तचाप अत्यन्त न्यून भएको र श्वास फेर्न गाह्रो भएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रगतमा अत्याधिक संक्रमण भएकाले औषधिले राम्रोसँग काम नगरेको अग्रवालले उल्लेख गर्नुभएको छ । ‘द स्याडोज नेपाल’का स्वप्निल शर्माले राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियानको नेतृत्व लिनुभएको थियो । हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह गर्नुभएको छ ।