काठमाडौं:= झण्डै २० वर्षअगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक गरिएको छ । सागर लम्साल ‘बले’ अभिनित उक्त म्युजिक भिडियोमा सागरसँगै शिक्षा संग्रौला, कुशल विष्ट र सञ्जिता पाण्डे ‘सानु’को अभिनय छ ।
पुराना गीतको रिमेकमा भिडियो निर्माण तथा अभिनय गर्नुको औचित्य प्रष्ट्याउँदै सागर भन्नुहुन्छ, ‘पुराना गीतले पुराना साथीभाइहरूको सम्झना दिलाउँछ । तिनै पुराना साथीहरूको सम्झनामा गीत फेरि रेकर्ड गराएर भिडियो बनाएको हो ।’
२० वर्षपछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर समावेश गरिएको छ । गीतमा सरला बिसीले साथ दिनुभएको छ । गोल्डेन मड क्रिएशनको ‘किन यसरी’लाई बले इटरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोलाई दर्शकहरूले रुचाएका छन् ।
केही समय पहिले रिमेक गरी चर्चामा आएको गीत ‘तिम्रो मन बदलिएछ’का निर्देशक निकेश खड्काको रहेको गीतको भिडियोमा प्रेममा हुने असमझदारी, दुर्घटना, पश्चातापलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ ।




















