एजेन्सी := अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका थिए।
देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर माफी मागेका हुन् । जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर राजधानी काबुलमा थप हिंसा नहोस् भनेर नै दोस्रो मुलुक गएको उनको भनाई छ ।
अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर कुम्ल्याएर देश छाडेको आरोप भने उनले अस्विकार गरेका छन् । काबुल छोड्दा गनीले लाखौं डलर रकम सुटकेसमा राखेर लगेको भनिएको एउटा भिडियो भाईरल भएको थियो । गनीले तालिबान सरकारबारे कुनै टिप्पणी गरेका छैनन् । अमेरिकाका विश्वासपात्र गनी सन् २०१४ र सन् २०१९ मा गरी दुई पटक अफगानिस्तानको राष्ट्रपति भएका थिए ।




















