१० वर्ष फ्रेन्चाइज भलिबल चौधरी ग्रुपको जिम्मा।

काठमाडौं := १० वर्षका लागि फ्रेन्चाइज भलिबलको जिम्मा नेपालको व्यावसायिक घराना चौधरी ग्रुपको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले लिएको छ । नेपाल भलिबलको नियमन निकाय नेपाल भलिबल संघ (एनभीए) र नेपाल स्पोर्ट्स तथा इभेन्ट्स म्यानेजमेन्ट कम्पनीबीच फ्रेन्चाइज भलिबल लिगका लागि १० वर्षे सम्झौता भएको हो ।

सम्झौताअनुसार महिला तथा पुरुष फ्रेन्चाइज भलिबल नेपाल स्पोर्ट्स कम्पनीले आयोजना गर्नेछ । सम्झौतापत्रमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के तथा नेपाल स्पोर्ट्स म्याजेनमेन्ट कम्पनीका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गर्नुभएको थियो ।

चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्ट्स इभेन्ट्स म्यानेजमेन्ट कम्पनीले यसअघि नेपालमा पहिलोपटक फ्रेन्चाइज फुटबल (नेपाल सुपर लिग) आयोजना गरिसकेको छ । देशभरका सात टोली सहभागी लिगको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

खेल सम्पन्न गर्न एनभीएले प्राविधिक जिम्मेवारी लिनेछ भने प्रतियोगिताको सम्पूर्ण खर्च म्यानेजमेन्ट कम्पनीले बेहोर्नेछ । यस्तै संघले बर्सेनि आयोजना गर्ने महिला तथा पुरुष लिगका लागि सहयोग गर्नेछ । म्यानेजमेन्ट कम्पनीले एनएसएल भलिबल प्रतियोगिताको नाफाको ३० प्रतिशत थप सहयोग गर्नेछ ।

प्रतियोगिताको पहिलो संस्करण १७ नोभेम्बरदेखि १७ डिसेम्बरसम्म गर्ने लक्ष्य राखिएको छ । यस्तै म्यानेजमेन्ट कम्पनीले दोस्रो संस्करण होम एन्ड अवेका आधारमा नेपालका विभिन्न सहरमा आयोजना गर्ने बताएको छ ।

सम्झौतापछि मन्तव्य राख्दै स्पोर्ट्स म्यानेजमेन्टका अध्यक्ष आश्रेता कार्की चौधरीले भलिबल लिग आयोजना गर्दा महिला तथा पुरुष भलिबलको खेलस्तर बढ्ने तथा नेपाली भलिबलको स्तर अझै उकासिने भएकाले प्रतियोगिताको सफल आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘यस सम्झैतासँगै नेपालको राष्ट्रिय महिला तथा पुरुष खेलको स्तर बढ्ने विश्वास लिएको छु । फुटबल सुपर लिग सफल आयोजना गर्‍यौं । जसले गर्दा अन्य खेल आयोजना गर्न हौसला मिल्यो । सम्झौता गर्नका लागि सहयोग गर्ने एनभीएप्रति आभार व्यक्त गर्दछौं,’ उहाँले भन्नुभयो ।

यस्तै भलिबल संघकी उपाध्यक्ष मास्केले म्यानेजमेन्ट कम्पनीसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । ‘भलिबल विकासका लागि म्यानेजमेन्ट टिमसँग जोडिन पाउँदा खुसी छौं । सम्झौतासँगै भलिबल खेल व्यावसायिकरूपमा अगाडि बढ्नेछ । अन्तर्राष्ट्रिय क्षेत्रमा फड्को मार्ने विश्वास लिएकी छु,’ उपाध्यक्ष मास्केले भन्नुभयो ।

कार्यक्रममा राखेप सदस्य-सचिव रमेश सिलवाल, भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदी, महासचिव जितेन्द्र चन्दलगायतको सहभागिता थियो ।