काठमाडौं:= अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका अल राउन्डर अज्मतुल्लाह ओमाजाईले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने हुनुभएको छ । सोमबार ललितपुर प्याट्रीयट्सले अल राउन्डर ओमाजाई क्लबमा अनुबन्ध भएको जनाएको छ ।
साबिक विजेता ललितपुर प्याट्रीयट्सले सामाजिक सञ्जालबाट ओमाजाइलाई अनुबन्ध गरिएको जनाएको छ । ओमाजाजाई ललितपुरमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि भुटानका ब्याट्सम्यान रानजुंग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाकेलाई अनुबन्ध गरिसकेको छ ।
यस्तै श्रीलंकाका बलर धम्मिका प्रसाद भैरहवा ग्ल्याडियट्र्सबाट खेल्ने पक्का भएको छ । ३८ वर्षीय फास्ट बलर धम्मिकाले श्रीलंकाका लागि २५ टेस्टमा ७५ विकेट लिनुभएको छ । यस्तै उहाँले २४ एकदिवसीयमा ३२ विकेट र २१ टी-ट्वान्टीमा १९ विकेट लिनुभएको छ ।
श्रीलंकाका पूर्वओपनर ब्याट्सम्यान उपुल थरंगाले पनि भैरहवाबाट खेल्नुहुनेछ । भैरहवाका मुख्य प्रशिक्षकमा पुबुदु दसानायके रहनुभएको छ । थरंगाले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गर्नुभएको थियो । ३६ वर्षीय थरंगाले श्रीलंकाका लागि ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ । उहाँले श्रीलंकाका लागि कुल २९२ खेलमा नौ हजार ११२ रन बनाउँदा १८ शतक बनाउनुभएको थियो ।
यस्तै अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नतले चितवन टाइगर्सबाट ईपीएल खेल्ने हुनुभएको छ । २३ वर्षीय करिमको टी–ट्वान्टीमा राम्रो स्किल रहेको छ र उहाँ मध्यपंक्तिका उपयोगी ब्याट्सम्यान पनि हुनुहुन्छ । चितवनले पाँचौं विदेशी खेलाडीका रूपमा करिमलाई अनुबन्ध गरिएको जनाएको छ । चितवनले यसअघि अफगानिस्तानकै मोहम्मद साहजाद, पाकिस्तानका डानिश अजिज, श्रीलंकाका सेकुगे प्रसन्न र मलेसियाका ब्याट्सम्यान विरनदीप सिंहलाई अनुबन्ध गरेको थियो ।
९ असोजबाट सुरु हुने प्रतियोगिताको विजेताले पाउने पुरस्कार बढाएर ५० लाख रुपैयाँ पुर्याएको छ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ ।प्रतियोगिता नजिकिँदै गर्दा सहभागी क्लबले खेलाडी अनुबन्धको क्रम बढाएका छन् । ईपीएल ९-२३ असोजमा काठमाडौंस्थित कीर्तिपुर अन्तर्राष्ट्रिय मैदानमा आयोजना हुनेछ ।
जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडियट्र्स, ललितपुर प्याट्रीयट्स, पोखरा राइनोजले खेल्नेछन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।




















