एसराजको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेशन शो’

काठमाडौं:= ‘ब्राइट इभेन्ट फेशन शो’ सम्पन्न भएको छ । अभिनेता तथा मोडल एसराज गराचको कोरियोग्राफीमा आयोजित उक्त फेशन शोमा जनकपुर, सिरहा, रौतहट, वीरगञ्ज, विराटनगर, दोलखा, भक्तपुर तथा काठमाडौंका मोडलहरूले विभिन्न सिक्वेन्समा आकर्षक क्याटवाक गर्दै विभिन्न पहिरन प्रदर्शन गर्नुभएको थियो ।

ब्राइट इभेन्ट म्यानेज्मेन्टका राजन बुढाथोकी तथा अनुशा रिजालद्वारा आयोजित उक्त फेशन शो पेप्सीकोलास्थित इन्टरनेशनल डान्स एकेडेमीको परिसरमा सम्पन्न भएको हो । फेशन शोको पहिलो सिक्वेन्समा मोडलहरू दर्शकदीर्घाबाटै उठेर दौडँदै ¥याम्पमा उक्लिनु भएको थियो ।

फेशन शोमा सिरहा, वीरगञ्ज तथा जनकपुरका मोडलहरूको प्रस्तुतिलाई दर्शकले हुटिङ गर्दै उत्साह बढाएका थिए । फेशन शोका तीनवटै सिक्वेन्सले दर्शकहरूलाई नयाँनयाँ पहिरनको बारेमा जानकारी दिनुका साथै मोडलहरूको आकर्षक भाउभाउले मनोरञ्जनसमेत गराएको थियो । फेशन शोमा केही अतिथि मोडलहरूद्वारा गरिएको सिक्वेन्स पनि प्रभावकारी बनेको थियो ।

फेशन शोकै क्रममा केहीअघि सम्पन्न मिस ग्लोरियस नेपाल २०२१ का प्रतिस्पर्धीहरू तथा विजेताको विशेष सिक्वेन्स पनि आकर्षक रहृयो । अपेक्षा शेरचन, एञ्जेल राईसहित अन्य केही अन्तर्राष्ट्रिय उपाधि विजेता बालबालिकाको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो ।

फेशन शोमा अर्मन सहनी, गौतम ठाकुर, वर्षा श्रेष्ठ, निर्भिक सिंह, राहुल जैसवाल, कुसुम रसाइली, इच्छा अधिकारी अतिथि मोडलको रूपमा सहभागी हुनुहुन्थ्यो । रोजिन शाक्यद्वारा सञ्चालन गरिएको उक्त फेशन शोमा क्याटवाक गर्ने मोडलहरूलाई स्पर्श (अ म्याजिकल टच) ब्युटि इन्स्टिच्युटले साज-सज्जा गरेको थियो ।