ऐतिहासिक तथा पूरातात्विक सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु।

काठमाडौं := काठमाडौंको वसन्तपुरस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि छानो छाउने काम सुरु गरिएको हो ।

सातौं शताब्दीमा बनेको सो सम्पदामा मौलिक प्रविधिकै प्रयोग गरेर झिंगटीको छानो छाउने काम सुरु गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । उहाँले सो सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गर्न अझै केही महिना लाग्ने पनि स्पष्ट पार्नुभयो । समितिले पुरानै मौलिकतालाई कायम राखेर सो सम्पदा पुनर्निर्माणको काम सम्पन्न गरेर विश्वलाई नै नमुना उदाहरण पेश गर्न सक्षम हुने दाबीसमेत गरेको छ ।

हालसम्म यो सम्पदाको पुनर्निर्माणका लागि ११ करोड ५० लाख रुपैयाँ खर्च गरिएको छ । काठमाडौं महानगरपालिकाको अनुदान सहायतामा भइरहेको पुनर्निर्माणको काम छिटो सम्पन्न गरी उद्घाटन गर्ने योजना तय गरिएको समितिका अध्यक्ष शाक्यले बताउनुभयो । काठैकाठको प्रयोग, झिंगटीको छाना, चारकुने इँटका गह्रा, लेसाइलो मोटाको लिपाई र मिहिन बुट्टा कुँदिएका काठको विशाल संरचना थियो–काष्ठमण्डप ।

समितिले सोही मौलिक प्रविधिको उपयोग गरी यसको पुनर्निर्माण गरेकाले काम सम्पन्न गर्न समय लागेको पनि स्पष्ट पारेको छ । करिब १९ करोड लागत अनुमान गरिएको सो ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणको काम अब छिट्टै सक्ने समितिको योजना छ । सोही योजनाअनुसार छानो छाउने कामलाई सुरु गरिएको समितिका अध्यक्ष शाक्यले बताउनुभयो।