संघीय संसद्का दुवै अधिवेशन आजबाट सुरु हुँदै।

काठमाडौं:= संघीय संसद्का दुवै अधिवेशन बुधबार (आज) बाट सुरु हुँदैछन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बुधबारका लागि आह्वान गर्नुभएको हो । आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा प्रस्तुत गर्नका लागि ३२ बुँदे कार्यसूची तय भएको छ ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशलगायत पेश गर्ने कार्यसूची रहेको छ । सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची छ ।  ३२ बुँदे कार्यसूचीमा शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेशलगायत कैयौं अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची छ ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले भारतलाई पठाइएको कूटनीतिक नोटका विषयमा पनि संसद्लाई जानकारी गराउने तयारी रहेको छ । यता, नेकपा एमालेले भने अधिवेशनको पहिलो बैठकलाई नै विरोध जनाउने तयारी गरेको छ । एमाले नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र कार्यशैलीलाई लिएर विभिन्न टिप्पणी गर्दै आएका छन् ।

पार्टीले सिफारिस गरेका १४ जना सांसदहरूको कारबाही रोकेको लगायतका विषयमा एमाले सभामुखसँग रुष्ट हुँदै आएको छ । सोही विषयमा एमालेले विरोध जनाउने तयारी गरेको हो । संसद् अधिवेशन आज अपरान्ह ४ बजे सुरु हुँदैछ ।

यसअघि संघीय संसद्को दुवै सदनको अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको आठौं अधिवेशनसमेत स्वतः अन्त्य गर्नुभएको थियो । आठौं अधिवेशनमा १० बैठक बसेका थिए ।

२० घण्टा १५ मिनेटसम्म चलेको उक्त अधिवेशन अवधिमा १८२ जना सदस्यले शून्य समयमा र ५८ जना सदस्यले विशेष समयमा बोलेको संसद् सचिवालयले जनाएको छ । अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो । जसको आधारमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा विभाजन भएका छन् ।