पेरिस:= विश्वविजेता फ्रान्स विश्वकप छनोटअन्तर्गत युरोपेली छनोट खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह ‘डी’ को खेलमा फ्रान्स घरेलु टोली युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बराबरीसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले सबैखाले प्रतियोगितामा लगातार ५औं बराबर नतिजा निकालेको छ । घरेलु टोली युक्रेनका मिकोला सापरेन्कोले ४४औं मिनेटमा अग्रता दिलाउनुभएको थियो । मार्सियलले ५०औं मिनेटमा गोल गर्दै फ्रान्सको हार संकट टार्नुभयो ।
फ्रान्स आफ्ना अट्याकर केलियन एम्बाप्पेबिना मैदान प्रवेश गरेको थियो । एम्बाप्पे चोटका कारण टोलीबाहिर हुनुहुन्छ । बराबरीका बाबजुद फ्रान्स समूह ‘डी’ को शीर्ष स्थानमा छ । पाँच खेलबाट नौ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा रहेको हो । समान पाँच/पाँच अंक रहे पनि फिनल्यान्ड र युक्रेन दोस्रो र तेस्रो स्थानमा छन् । समान दुई अंकका साथ बोस्निया एन्ड हर्जगोभिना र काजकिस्तान चौथो तथा पाँचौं स्थानमा छन् । समूह ‘डी’ को अन्य खेलमा फिनल्यान्डले काजकिस्तानमाथि १-० को जित हासिल गरेको छ ।
यता अर्को खेलमा स्ट्राइकर मेम्फिस डिपाएले दुई गोल गरेपछि समूह ‘जी’ को खेलमा नेदरल्यान्डले मोन्टेनेग्रोमाथि ४-० गोल अन्तरले पराजित ग¥यो । बार्सिलोनाका स्ट्राइकर डिपाएले पेनाल्टीमा गोल गर्दै ३७औं मिनेटमा नेदरल्यान्डलाई अग्रता दिलाउनुभयो । ६२औं मिनेटमा दोस्रो गोल गर्दै डिपाएले नेदरल्यान्डको अग्रता दोब्बर पार्नुभयो ।
७०औं मिनेटमा जर्जिनियो विज्नाल्डमले नेदरल्यान्डका लागि तेस्रो गोल गर्नुभयो । ७६औं मिनेटपछि कोडी गाक्पोले गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । मुख्य प्रशिक्षकका रूपमा लुइस भानको यो तेस्रो कार्यकाल हो । उहाँको नेतृत्वमा टोली बुधबार नर्वेसँग १-१ को बराबरीमा रोकिएको थियो ।
जितसँगै नेदरल्यान्ड समूह ‘जी’ को दोस्रो स्थानमा छ । पाँच खेलबाट नेदरल्यान्डको १० अंक छ । समान पाँच खेलबाट टर्की ११ अंकसहित शीर्ष स्थानमा छ । चार अंक बटुलेको लाट्भिया पाँचौं स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको जिब्रल्टार पुछारमा छ ।
शीर्ष टोली टर्कीले गए रातिकै खेलमा जिब्रल्टारमाथि ३-० को विजय हासिल गरेको थियो भने नर्वेले अर्को खेलमा लाट्भियालाई २-० ले हराएको थियो ।




















