कालोपत्रे भयो, पुल नबन्दा सास्ती।

उदयपुर:= मदन भण्डारी लोकमार्गको पूर्र्वी खण्डमा एक दर्जन बढी खोला तथा खहरेमा पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्रचोकदेखि सिन्धुलीको भिमान १३४ किलोमिटर सडकखण्डमा पर्ने १३ वटा पुल निर्माण सम्पन्न नहुँदा यात्रुले सास्ती खेप्नुपरेको हो ।

सडकको १३४ किमिमध्ये ११२ किलोमिटर कालोपत्रे भइसकेको छ । यस खण्डमा पर्ने ४३ वटा पुलको समेत निर्माण सम्पन्न भइसकेको छ । तर, यसबीचमा पर्ने १३ वटा खोला तथा खहरेमा पुल नबन्दा यात्रुले दैनिक सास्ती खेप्नुपरिरहेको छ । गाईघाट सदरमुकामको पूर्वतर्फ सुन्दरी, लामा, ज्यामिरे, खैराहा, असारी र पश्चिमतर्फ मौवासी, अर्ना, पँधेरे, थनाहा, सुनखानी, रातु र धप्परखोलामा पुल बन्न बाँकी छ । वारिपारि कालोपत्रे भए पनि खोला तथा खहरेमा पुल बन्न नसक्दा यातायात सञ्चालनमा कठिनाइ छ ।

जिल्लाको पश्चिम कटारीबाट सदरमुकाम आवतजावत गर्न मौवासी र अर्नाखोलाले अवरोध गरेको छ । पूर्वी बेलकाबाट सदरमुकाम पुग्न सुन्दरी, लामा, ज्यामिरे, खैराहा र असारीखोलामा भेलबाढी आउँदा यात्रु घण्टांै अलपत्र पर्न बाध्य भएका छन् । धरान-चतरा-गाईघाट- सिन्धुली-भिमान-हेटौंडा ३१८ किलोमिटर सडकलाई पूर्वी पश्चिमी खण्डमा विभाजन गरी पूर्र्वी खण्ड सिन्धुली भिमान जेडआईसीसी शर्मा एन्ड लामा जेभीले सडकको निर्माण ६ अर्ब ४५ करोड र रसुवा तुन्दी जेभीले पुलको काम तीन अर्ब २५ करोडमा ठेक्का पाएको छ । कोभिड–१९ महामारीलगायत विभिन्न कारण देखाउँदै ठेकेदारले काम गर्न आलटाल गरिरहेको स्थानीय बताउँछन् ।

मदन भण्डारी लोकमार्ग आयोजना उदयपुरका इन्जिनियर  शंकर पौडेलका अनुसार भौतिक तथा आर्थिक काम शतप्रतिशत भएको छ । पहिलोपटक छुटेका १३ वटा पुलमध्ये लामा तथा ज्यामिरेखोलामा पुल निर्माणको कार्य सुरु भएको छ । सुन्दरी, खैराहा, असारी, मौवासी र अर्नाखोलामा वर्षात्पछि सुरु गरिने र पँधेरे, थनाहा, सुनखानी रातु र धप्परखोलाको डिजाइन इस्टिमेट स्वीकृत र टेन्डर प्रक्रिया बाँकी रहेको इन्जिनियर पौडेलले बताउनुभयो ।