सेयर बजारमा पहिरो, नेप्से एकैदिन १०८ अंकले घट्यो।

काठमाडौं:= आइतबार नेप्से सूचकमा उच्च गिरावट आएको छ। बजारका सबै सूचक घटेसँगै नेप्से ओरालो लागेको छ । पछिल्लो केही दिनदेखि निरन्तर गिरावट आइरहेको बजारमा यसले आइतबार पनि निरन्तरता पायो ।

नेप्से आइतबार १०८.२६ अंकले घटेर २८१८.२६ अंकमा आइपुगेको छ । कारोबार समयमा ५.०३ प्रतिशतले ओरालो लागेको नेप्से ४० मिनेट बन्द भएर पुनः १ बजेर ४१ मिनेटमा कारोबार सुरु भएको थियो । कारोबार सुरु भएपछि बजार उकालो लाग्न थाले पनि अन्तमा फेरि ओरालो लागेर बन्द भयो। दुई दिनपछि सुरु भएको कारोबार बिहान बजार खुल्ला प्री–ओपन मार्केटमा बढे पनि नियमित कारोबार सुरु भएपछि भने ओरालो लागेको थियो ।

ठूला लगानीकर्तालाई लगानीको लागि केन्द्रीय बैंकले कडाइ गरेपछि उनीहरूले सीमाभित्र ल्याउन सेयर बिक्री गर्दा बजार ओरालो लागेको बताइएको छ । आइतबार सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा आयो । कुल ८.०१ प्रतिशत घटेको यो क्षेत्रबाहेक डेभलपमेन्ट बैंक (७.२१ प्रतिशत) र हाइड्रोपावर (६.०५ प्रतिशत) को सूचकमा समेत उच्च गिरावट आयो । बजारका सबै सूचक राताम्मे हुँदा जम्मा ६ वटा कम्पनीको सेयर मूल्य मात्र उकालो लाग्यो ।

सानिमा लाइफ इन्स्योरेन्स (९.९७ प्रतिशत), मनकामना स्मार्ट लघुवित्त (४.०२ प्रतिशत), गुराँस लघुवित्त (१.९४ प्रतिशत), प्रोगेसिभ फाइनान्स (१.७६ प्रतिशत), माउन्टेन इनर्जी नेपाल (०.७५ प्रतिशत) र आइएमई जनरल इन्स्योरेन्स (०.१७ प्रतिशत) को सूचक मात्र बढ्यो । आइतबार कुल २२३ कम्पनीको सेयर कारोबार हुँदा कुल ११ अर्ब २४ करोडभन्दा बढी रकमको कारोबारसमेत भयो ।

गुडविल फाइनान्स, जानकी फाइनान्स, अरुण काबेली हाइड्रो, आइसिएफ्सी फाइनान्स, युनिभर्सल पावर, समृद्धि फाइनान्स, रियायन्स फाइनान्स, सिएचडिसी हाइड्रो, रुरु जलविद्युत्, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, हिमालय ऊर्जा र बेष्ट फाइनान्सको नकारात्मक सर्किट नै लाग्यो । आइतबारको नेप्सेमा भएको गिरावट इतिहासमा नै दोस्रो ठूलो गिरावट हो भने एक वर्षयताकै सबैभन्दा धेरै अंकको गिरावट हो । यसअघि गत पुस ५ गते बजार एकैदिन ९७ अंकले ओरालो लागेको थियो।

सातामै बजार साढे २ सयको हाराहारीमा ओरालो लागेपछि लगानीकर्ता अत्तालिएका थिए । गत भदौ १३ गते ३०४४ अंकमा रहेको सेयर परिसूचक आइतबार २८१८.७३ अंकमा अडिएको छ । यसदिन २१५ कम्पनीको ११ अर्ब २४ करोड रुपैयाँ कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

गभर्नर अधिकारीको राजीनामा माग

बजार ओरालो लागेपछि अत्तालिएका लगानीकर्ताहरूले भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने भन्दै विज्ञप्तिसमेत निकालेका छन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रूपमा राख्दै विभिन्न १६ बुँदे माग राखेको छ ।

समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायत माग अघि सारेको छ । लगानीकर्ताहरूले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै अधिकारीलाई हटाउन दबाब दिएका हुन् ।

बजार निरन्तर उकालो लाग्दै आएको थियो । गत केही महिनादेखि बुलमा प्रवेश गरेको नेप्सेमा खासै ठूलो करेक्सन भइरहेको थिएन । ठूलो करेक्सनबिना बजार अगाडि बढ्छ भने झन् ठूलो करेक्सन हुने जोखिम हुन्छ । अहिले त्यही भएको नेप्सेले जनाएको छ ।

बजार उकालो लाग्दा मात्तिने र ओरालो लाग्दा आत्तिने प्रवृत्ति विश्वभरिको सेयर बजारमा देखिन्छ । नेपालमा पनि त्यो प्रवृत्ति देखिनु अस्वाभाविक होइन । नयाँ लगानीकर्ताको बाहुल्य हुनाले बजार ओरालो लाग्दा आत्तिने प्रवृत्ति अलि चर्कैसँग देखियो । फलतः नराम्रोसँग बजार झर्न पुगेको विश्लेषकहरू बताउँछन् ।