मानव बेचबिखन नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा।

काठमाडौं:= मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औं राष्ट्रिय दिवस विविध कार्यक्रम गरी आइतबार मनाइएको छ । ‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने मूल नारासहित विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा आइतबार भर्चुअल रूपमा आयोजना गरिएकोे कार्यक्रममा मानव सभ्यताकै कलंकको रूपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको प्रधानमन्त्री देउवाले बताउनुभयो  । राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार शाखाद्वारा आयोजित कार्यक्रममा उहाँले दिनुभएको शुभकामना सन्देश दिँदै ‘नेपालको संविधानले मानव बेचबिखन गर्न नपाउने व्यवस्था गरेकाले यसको नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ’, भन्नुभयो ।

प्रधानमन्त्री देउवाले मानव बेचबिखन विरुद्धको अभियानमा साझेदारी गर्नुहुने सबै अभियानतालाई हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सबैमा आग्रह गर्नुभयो ।

यस्तै, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिका सभापति नीरुदेवी पालले २१औं शताब्दीमा महिलालाई पशुसरह बेचबिखन हुने गरेको दुःखद अवस्था रहेको उल्लेख गर्नुहुँदै मानव ओसारपसार गर्ने जालोलाई मुक्त गर्न जरुरी रहेको बताउनुभयोे ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराध सभ्य समाजको बाधक तŒव रहेको उल्लेख गर्नुहुँदै यस्ता सामाजिक कलंकको रूपमा मौलाएको अपराध नियन्त्रण तथा रोकथामका लागि सरकार, निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, विकास साझेदार निकाय, नागरिक समाज, मानव अधिकारकर्मीलगायत सम्पूर्ण सरोकारवालाहरू एकजुट भएर आगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

महिला सशक्तिकरण महाशाखा प्रमुख सहसचिव रोशनीकुमारी श्रेष्ठले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो । कार्यक्रममा मानव बेचविखन नियन्त्रण राष्ट्रिय समितिका सदस्यहरू, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय तथा नेपाल प्रहरी मानव बेचविखन अनुसन्धान ब्युरोको तर्फबाट प्रस्तुतिकरण भएको थियो ।

सो अवसरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरी योगदान पु¥याउनुभएका व्यक्ति तथा संस्थाहरूलाई पुरस्कार तथा सम्मान घोषणा गरिएको थियो । यसमा प्रहरी प्रधान कार्यलय मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी निरीक्षक श्रीराम थापा, पत्रकार ज्योति कटुवाल, कुमार यात्रु, शक्ति समूहबाट माया तामाङ, संस्थाको तर्फबाट हिमालय टाइम्स दैनिक, जिल्ला प्रहरी कार्यलय कैलाली, हाम्रा कुरा डटकम र पौरखी नेपाललाई पुरस्कार तथा सम्मान घोषणा गरिएको थियो ।

मन्त्रालयका सचिव यामकुमारी खतिवडा बाँस्कोटाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र रोकथामका लागि मन्त्रालयका नीति, रणनीति र आगामी कार्ययोजनाबारे प्रकाश पार्दै मानव बेचबिखनमुक्त समाज निर्माणका लागि आ–आफ्नो ठाउँबाट योगदान पु¥याउने र बेचबिखनविरुद्ध यसै क्षेत्रमा सरोकारवाला सबै निकायलाई एकजुट हुनका लागि आहृवान गर्नुभएको थियो ।

नेपाल सरकारले हरेक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले योे दिवस मनाउन थालिएको हो । सार्कको ११औं सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्घको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसद्बाट २०६३ भदौ २० गते अनुमोदन भएपछि त्यही दिनको सम्झनामा २०६४ सालदेखि मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।