आफ्नै पहिचानले विश्वमा स्थापित गर्छ : सुस्मिता खत्री, सिनेमेटोग्राफर।

काठमाडौं:= नेपाली कला क्षेत्रको प्राविधक पाटोमा पुरुषसरह महिलाहरूले पनि आफ्नो उत्कृष्ट कला पस्किएका छन् । यस क्षेत्रमा निर्देशनदेखि लिएर विभिन्न पाटोमा महिलाहरूले आफ्नो सघन उपस्थितिका साथै उत्कृष्टता प्रस्तुत गरिरहेका छन् । यस क्षेत्रमा महिलाको सिनेमेटोग्राफीका रूपमा पनि सशक्त उपस्थिति रहेको छ । यस्तैमा सिनेमेटोग्राफीका रूपमा अग्रपंक्तिमा आउने नाम हो सुस्मिता खत्री ।

छायांकारका रूपमा आफ्ना प्रस्तुतिमार्फत उहाँले तारिफ बटुल्न सफल हुनुभएको छ । सानैदेखि घरमा भएको क्यामरा चलाउने गर्नुहुने उहाँ पछि यसैमा रुचि बढ्दै गयो र अहिले आफ्नो क्षमतामार्फत सबैको मन जित्न सफल हुनुभएको छ । यतिबेला हाइट हाउस कलेजमा एमबीए अध्ययनरत उहाँ कला क्षेत्रमा पनि उत्तिकै लगनका साथ धेरैको रोजाइमा पर्न सफल हुनुभएको छ । डकुमेन्ट्री, सर्ट मुभी, म्युजिक भिडियोलगायत एक दर्जनभन्दा बढीमा उत्कृष्टता प्रदर्शन गर्नुभएको उहाँको पहिलो प्रस्तुति ‘एकल महिला’ रहेको थियो । यसलाई उहाँले लमजुङ गएर गएर छायांकन गर्नुभएको थियो । ‘४५ दिन जति लगाएर विकट ठाउँमा गएर छायांकन गरेका थियौं । निकै दुःख भयो नयाँ ठाउँमा रमाइलो पनि भयो, नयाँ परिवेश, ठाउँ र वस्तुस्थितिको अध्ययन भयो’, उहाँले हिमालय टाइम्सलाई सुनाउनुभयो ?

यतिबेला नयाँ काममा जुटनु भएको उहाँ तीनवटा जति पाइपलाइनमा रहेको सुनाउनुहुन्छ । कुनै पनि दृश्य सामग्रीलाई राम्रो बनाउन सिनेमेटोग्राफरको महत्वपूर्ण भूमिका रहेको बताउनुहुने उहाँ एउटा राम्रो दृश्य सामग्री दर्शकसम्म आउँदा धेरै जनाको उत्तिकै महŒवपूर्ण भूमिका रहेको बताउनुहुन्छ । ‘निर्देशन, स्क्रिप्ट, अभिनय गर्ने व्यक्ति या हामीले देखाउन चाहेको दृश्य, प्रयोग गरिएको प्राविधिक सामग्री त्यो सबै आ–आफ्नो ठाउँमा महŒव रहेको हुन्छ । तर, त्यसलाई कसरी आफ्नो क्यामेरामा क्याप्चर गर्ने भन्ने कुरा अझ महŒवपूर्ण हुन्छ’, उहाँले आफ्नो कार्यका बारेमा अझ प्रष्ट पार्दै भन्नुभयो, ‘सबै राम्रो हुँदा–हुँदै राम्रो रूपमा क्यामेरामा क्यापचर भएन भने त्यसको के अर्थ ?’ कुनै पनि दृश्य सामग्रीका लागि कुन क्यामेरा युज गर्ने, लाइट कसरी मिलाउने, कसरी क्याप्चर गर्दा अझ राम्रो आउँछ भन्ने कुरा सिनेमेटोग्राफरलाई थाह हुन्छ । उसले आफूले जानेको, बुझेको र अध्ययन गरेकोबाट साथै प्रविधिको भरपूर्ण प्रयोगबाट राम्रो दृश्य क्याप्चर गर्न सक्छ ।

आफूले अहिलेसम्म गरेका काममध्ये आफैंलाई राम्रो लागेको काममा उहाँले मानवअधिकारमा आधारित रहेको गरिएको ‘एकल महिला’ राम्रो रहेको सुनाउनुभयो । ‘हुन त आफ्ना सबै काम आफूलाई राम्रो लाग्छ, तर जहिले पनि अझ राम्रो गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, मेरा सबै काममा म उतिकै लगनशील भएर लाग्ने गर्छु । तरपनि सन्देश मूलक रहेकाले ‘एकल महिला’ मन परेको हो’, उहाँले स्पष्टीकरण दिँदै सुनाउनुभयो ।

अबको पुस्ताको काँधमा हाम्रा अग्रजहरूले यहाँसम्म ल्याइपु¥याएको नेपाली कला क्षेत्रलाई अझ अगाडि बढाउने जिम्मेबारी रहेको बताउँदै उहाँले यो जिम्मेबारी पूरा गर्न रहरले होइन पढेर, बुझेर र अध्ययन गरेर यो क्षेत्रमा होमिन सल्लाह दिनुहुन्छ । ‘आफूलाई खारिएर आफ्नो क्षमतालाई निखारेर यो क्षेत्रमा आउनुभएको छ धेरै जना’ भन्दै उहाँले यसले गर्दा नेपाली कला क्षेत्र आउँदा दिनमा अझ व्यापक र विस्तार भएर जाने विश्वास गर्नुहुन्छ ।

‘हाम्रो पहिचान, कला संस्कृतिको संरक्षण गर्दै हाम्रो प्रस्तुतिमा हाम्रो माटोको गन्ध मिसाऔं । अरूको नक्कलभन्दा आफ्नो पहिचानलाई अझ अग्लायौं’ भन्नुहुने सुस्मिता अरूको नक्कलले हामीलाई कहीँ नपु¥याउने र आफ्नै पहिचानले विश्वमा स्थापित गर्ने दाबी गर्नुहुन्छ ।

सिनेमेटोग्राफीसँगै अभिनयमा पनि रुचि राख्नुहुने उहाँ यो रुचिमात्रै रहेको र मुख्यतया आफूलाई वेष्ट अफ दि वेष्ट सिनेमेटोग्राफी नै बनाउने चाहना रहेको बताउनुहुन्छ । त्यस्तो त उहाँका अन्य सौखमा डान्सिङ, घुमघामका साथै अध्ययन रहेको सुनाउनुभयो ।